काठमाडौं । पाकिस्तानी क्रिकेट टोलीका निर्देशक मिकी आर्थरले बाबर आजमलाई कप्तानको भूमिकामा अझै समय दिनु पर्ने बताएका छन् ।
कोलकातामा शनिबार इङ्ल्यान्डसँग ९३ रनले पराजित भएसँगै पाकिस्तानको सेमिफाइनल सम्भावना समाप्त भएको थियो ।
‘म बाबरको साथमा छु। उनी युवा छन्। हामीले यसलाई समय दिनैपर्छ,’ आर्थरले भने ‘, बाबरले हरेक दिन सिकिरहेका छन् । हामीलाई थाहा छ कि उनी राम्रो ब्याट्सम्यान हुन् र आफ्नो कप्तानीबाट हरेक दिन नेतृत्व दिन सिक्छन्।’
बाबरलाई मे २०२० मा एक दिवसीय कप्तानमा नियुक्त गरिएको थियो। विश्वकपमा खरब प्रदर्शनका बाबजुद अप्रिलमा टोली निर्देशक नियुक्त भएका आर्थरले पाकिस्तानको कप्तान परिवर्तन हुनुहुँदैन भने पनि बाबरको कप्तानीलाई लिएर आलोचना भैरहेको छ।
पाकिस्तान क्रिकेट बोर्डको पूर्वअध्यक्ष तथा क्रिकेटर रमिज राजा भने बाबरलाई कप्तानी छाड्न सल्लाह दिन्छन् ।
‘बाबरमाथि धेरै दबाब छ । यस्तो अवस्थामा उनले पद छोड्नु राम्रो हुनेछ,‘राजाले भने ,‘ मलाई लाग्छ कप्तानी छाडेपछि पनि सबै उस्तै रहनेछ र बाबर अहिले जत्तिकै महत्त्वपूर्ण रहिरहने छन्। बाबर क्षमतावान छन् यसमा कुनै शंका छैन तर कप्तानको भूमिकाले उनी दबाब महसुस गरिरहेका छन्।’