काठमाडौं । दक्षिण अफ्रिकाले भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा शुक्रबार अफगानिस्तानमागि पाँच विकेटको जित निकालेको छ ।
जितसँगै नौ खेलमा १४ अंक जोडेको दक्षिण अफ्रिका दोस्रो स्थानमा छ । पराजयसँगै समान खेलबाट ८ अंक जोड्दै अफगानिस्तान छैटौं स्थानमा रह्यो ।
अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा अफगानिस्तानले प्रस्तुत गरेको २ सय ४५ रनको लक्ष्य दक्षिण अफ्रिकाले ४७.३ ओभरमा पाँच विकेट गुमाउँदै भेट्टायो ।
दक्षिण अफ्रिकाका लागि रास्सी भान डेर डुसेनले ९५ बलमा ६ चौका र एक छक्काको मद्दतले अविजित ७६ रनको योगदान गरे । यसैगरी क्विनटन डिककले ४१, एन्डिले फेहलुक्वायोले अविजित ३९, एडेन मार्क्ररमले २५, डेविड मिलरले २४ र कप्तान टेम्बा बाभु्माले २३ रन बनाए ।
डुसेनले छैटौं विकेटका लागि फेहलुक्वायोसँग अविजित ६५ र तेस्रो विकेटका लागि मार्क्ररमसँग ५० रनको साझेदारी गरे । यसैगरी पहिलो विकेटका लागि डिकक र बाभुमाले ६४ रनको साझदारी गरेका थिए ।
अफगानिस्तानका लागि मोहम्मद नाबी र राशिद खानले समान दुई तथा मुजिब उर रहमानले एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २ सय ४५ रनको योगफल तयार पारेको थियो ।
अफगानिस्तानका लागि अज्मतुल्लाह ओमरजाइले १ सय ७ बलमा सात चौका र तीन छक्काको मद्दतले अविजित ९७ रनको योगदान गरे । यसैगरी रहमत शाह र नुर अहमदले समान २६, रहमानुल्लाह गुर्बाजले २५, इब्राहिम जाद्रनले १५, राशिद खानले १४ र इक्रम अलिखिलले १२ रन बनाए ।
ओमजाइले तेस्रो विकेटका लागि शाहसँग ४९ रनको साझेदारी गरे । दक्षिण अफ्रिकाका लागि जेराल्ड कोएट्जीले चार, लुङ्गी एनगिडी र केशव महाराजले समान दुई तथा एन्डिले फेहलुक्वायोले एक विकेट लिए ।