वुमन्स अल स्टार्स

सीतासम्मिलित जाडे जेट्स विजयी

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी अलराउन्डर सीता राना मगरसम्मिलित जाडे जेट्सले हङकङमा जारी ‘वुमन्स अल स्टार्स’ ट्वान्टी २० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

जाडेले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी पूर्वकप्तान रुबिना क्षेत्रीसम्मिलित बाउहिनिया स्टार्सलाई ३९ रनले पराजित गरेको हो ।

मिसन रोड क्रिकेट मैदानमा शुक्रबार जाडेले प्रस्तुत गरेको १ सय ३३ रनको लक्ष्य पछ्याएको बाउहिनियाले २० ओभर नै ब्याटिङ गरे पनि चार विकेट गुमाउँदै ९३ रन मात्र बनाउन सक्यो ।

बाउहिनियाका लागि रुबिनाले अविजित ३५, मारियम बिबीले २२ र इमा लीले १९ रन बनाए । जाडेका लागि लागि मारिया बालोचले दुई तथा एलिसन सियु र फतिमा अमिरले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको जाडेले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १ सय ३३ रनको योगफल तयार पारेको थियो ।

जाडेका लागि सीताले ४०, कप्तान शन्जिन शहजादले ३५ र यस्मिन दासवानीले अविजित १७ र एलिसन सियुले अविजित १० रन बनाए । बाउहिनियाकाल इक्रा सेहरले दुई तथा रुबिना क्षेत्री र मारियम बिबीले समान एक विकेट लिए । 

सीता ‘प्लेयर अफ द म्याच’ चुनिइन् । अब यी दुई टोलीबीचको दोस्रो खेल शनिबार हुनेछ ।