काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी नवनियुक्त कप्तान इन्दु बर्माले टोलीलाई चाहिएको नेतृत्वकारी भूमिका निर्वाह गर्न तयार रहेकाे बताएकी छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार इन्दुलाई नयाँ कप्तानमा नियुक्त गरेको थियो । उनले सामाजिक सञ्जालमार्फत क्यानलाई धन्यवाद दिँदै टोलीलाई चाहिएको नेतृत्वकारी भूमिका निर्वाह गर्न तयार रहेकाे प्रतिक्रिया दिएकी हुन् ।
‘नयाँ जिम्मेवारीले उर्जा थपिएकाे छ। अझ बढी जिम्मेवारी बोध भएको छ । नेपाली महिला क्रिकेटको भविष्यलाई विशेष प्राथमिकतामा राखेर गर्नु भएको यहाँहरुको यस महत्वपूर्ण निर्णयलाईआत्मसात गर्दै महिला टोलीलाई चाहिएको उचित नेतृत्वकारी भूमिका निर्वाह गर्न हरदम तयार रहेको विश्वास दिलाउन चाहन्छु,’ इन्दुले भनेकी छन् ।
क्यानले हङकङमा हुने चार देशसम्मिलिन महिला ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखलाका लागि टाेली घोषणा गर्दै इन्दुलाई नेपाली टोलीको कप्तान नियुक्त गरेको हो ।
यसअघि नेपालको कप्तानी रुबिना क्षेत्रीले गर्दै आएकी थिइन् । यसैगरी क्यानले उपकप्तानको जिम्मेवारी विन्दु रावललाई दिएको छ ।
यसैगरी इन्दुले नेपाली पुरुष क्रिकेट टोलीलाई जस्तै महिला टोलीलाई पनि दर्शकको साथ मिल्ने विश्वास लिएको बताएकी छन् ।
‘समर्थकहरुले पुरुष टोलीलाई जस्तै महिला टोलीलाई पनि माया, साथ र हौसाला प्रदान गर्नुहुने भन्ने विश्वास लिएको छु । म नेपाली क्रिकेटको नयाँ अध्यायको सुरुआत गर्नका लागि तयार छु,’ इन्दुले थपेकी छन् ।
कात्तिक २९ देखि मंसिर ३ सम्म हुने शृंखलाका सबै खेल हङकङ क्रिकेट क्लबको मैदानमा हुनेछन् । शीर्ष दुई टोलीले उपाधिका लागि भिड्ने छन् । यसैगरी पुछारका दुई टोलीले तेस्रो स्थानमा लागि प्रतिस्पर्धा गर्नेछन् ।
शृंखलाको पहिलो खेलमा तान्जेनियाको सामना गर्ने भएको छ । नेपाल र तान्जेनियाबीचको खेल कात्तिक २९ मा हुनेछ ।
यसैगरी नेपालले कात्तिक ३० मा आयोजक हङकङ र मंसिर दुई गते जापानको सामना गर्नेछ ।
नेपाली टोलीः
इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सीता राना मगर, खुशी डंगोल, विन्दु रावल (उपकप्तान) ,अस्मिना कर्मचार्य, सोमु विष्ट, संगीता राई, कञ्चन श्रेष्ठ, सोनी पाख्रिन, पुजा महतो, रोमा थापा, काजोल श्रेष्ठ, सम्झना खड्का