आइसिसी एकदिवसीय विश्वकप

एकदिवसीय विश्वकपः न्युजिल्यान्डले श्रीलंकालाई हरायो

काठमाडौं । साबिक उपविजेता न्यसजिल्यान्डले श्रीलंकामाथि पाँच विकेटको जित निकाल्दै भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा सेमिफाइनल सम्भावनालाई जिवितै राखेको छ ।

जितसँगै नौ खेलमा १० अंक जोडेको न्युजिल्यान्ड चौथो स्थानमा छ । सातौं हारसँगै समान खेलबाट चार अंक जोडेको श्रीलंकाको च्याम्पियन्स ट्रफीको सम्भावना समाप्त भएको छ । 

बेङ्लोरस्थित एम चिन्नास्वामी रंगशालामा बिहीबार श्रीलंकाले प्रस्तुत गरेको १ सय ७२ रनको लक्ष्य न्युजिल्यान्डले २३.२ ओभरमा पाँच विकेट गुमाउँदै भेट्टायो ।

न्युजिल्यान्डका लागि डिभोन कोन्भेले ४५, ड्यारिल मिचेलले ४३, रचिन रविन्द्रले ४२ र ग्लेन फिलिप्सले अविजित १७ रन बनाए ।

पहिलो विकेटका लागि कोन्वे र रविन्द्रले ८६ रनको साझेदारी गरेका थिए । श्रीलंकाका लागि एन्जेलो म्याथ्युजले दुई तथा महेश तिक्क्षणा र दुस्मन्था चमिराले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले ४६.४ ओभरमा सबै विकेट गुमाएर १ सय ७१ रनको योगफल तयार पारेको थियो ।

श्रीलंकाका लागि परेराले २८ बलमा नौ चौका र दुई छक्काको मद्दतले सर्वाधिक ५१ रनको योगदान गरे । २२ बलमै ५० बनाएका उनी जारी विश्वकपमा सबैभन्दा कम बलमा अर्धशतक बनाउने खेलाडी समेत बने । 

यसैगरी महेश तिक्क्षणा अविजित ३९, धनन्जय डि सिल्भा र दिल्सान मदुसंकाले समान १९ तथा एन्जेलो म्याथ्युजले १६ रन बनाए ।

१० औं विकेटका लागि तिक्क्षणा र मदुसंकाले ४३ रनको साझेदारी गरे । न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्टले तीन, लकी फर्गुसन, रचिन रविन्द्र र मिचेल स्यान्टनरले समान दुई तथा टिम साउथीले समान एक विकेट लिए ।