काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले हङकङमा हुने चार देशसम्मिलिन महिला ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखलाका लागि इन्दु बर्मालाई नेपाली टोलीको कप्तान नियुक्त गरेको छ ।
यसअघि नेपालको कप्तानी रुबिना क्षेत्रीले गर्दै आएकी थिइन् । यसैगरी क्यानले उपकप्तानको जिम्मेवारी विन्दु रावललाई दिएको छ ।
क्यानले बिहीबार शृखलाका लागि १४ सदयस्यी टोली घोषणा गरेको हो जसमा रुबिना क्षेत्री अटाए पनि कप्तानको जिम्मेवारी भने इन्दुलाई दिइएको छ ।
कात्तिक २९ देखि मंसिर ३ सम्म हुने शृंखलाका सबै खेल हङकङ क्रिकेट क्लबको मैदानमा हुनेछन् । शीर्ष दुई टोलीले उपाधिका लागि भिड्ने छन् । यसैगरी पुछारका दुई टोलीले तेस्रो स्थानमा लागि प्रतिस्पर्धा गर्नेछन् ।
शृंखलाको पहिलो खेलमा तान्जेनियाको सामना गर्ने भएको छ । नेपाल र तान्जेनियाबीचको खेल कात्तिक २९ मा हुनेछ ।
यसैगरी नेपालले कात्तिक ३० मा आयोजक हङकङ र मंसिर दुई गते जापानको सामना गर्नेछ ।
बन्द प्रशिक्षणबाट रुबी पोदार, ज्योति पाण्डे, कविता जोशी, सबनम राई, मनिषा चौधरी, अप्सरी बेगम, कृतिका मरासिनी, ईश्वरी विष्ट बाहिरिएका छन् ।
नेपाली टोली
नेपाली टोलीः
इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सीता राना मगर, खुशी डंगोल, विन्दु रावल (उपकप्तान) ,अस्मिना कर्मचार्य, सोमु विष्ट, संगीता राई, कञ्चन श्रेष्ठ, सोनी पाख्रिन, पुजा महतो, रोमा थापा, काजोल श्रेष्ठ, सम्झना खड्का