आइसिसी एकदिवसीय विश्वकप

एकदिवसीय विश्वकपः इङ्ल्यान्डलाई अफगानिस्तानको २ सय ८५ रनको लक्ष्य

काठमाडौं । रहमानुल्लाह गुर्बाज र इक्रम अलिखिलको अर्धशतकप्रेरित अफगानिस्तानले भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा साबिक विजेता इङ्ल्यान्डसामु २ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

दिल्लीस्थित अरुण जेट्ली क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ८४ रनको योगलफल तयार पारेको थियो ।

अफगानिस्तानका लागि गुर्बाजले ५७ बलमा आठ चौका र चार छक्काको मद्दतले सर्वाधिक ८० रनको योगदान गरे । यसैगरी अलीखिलीले ६६ बलमा तीन चौका २ छक्काको मद्दतले ५८, मुजिब उर रहमान र  इब्राहिम जाद्रनले समान २८ र राशिद खानले २३, अज्मतुल्लाह ओमरजाइले १९ र कप्तान हस्मतुल्लाह शाहिदीले १४ रन बनाए । 

पहिलो विकेटका लागि गुर्बाज र जाद्रनले १ सय १४ रनको साझेदारी गरेका थिए ।

इङ्ल्यान्डका लागि आदिल राशिदले तीन, मार्क उडले दुई  तथा रिस टोप्ली, जो रुट र लियम लिभिङ्गस्टोनले समान एक विकेट लिए । 

 इङ्ल्यान्ड दोस्रो जितको खोजीमा छ । यसअघि न्युजिल्यान्डसँग नौ विकेटको पराजय व्यहोरेको इङ्ल्यान्डले बंगलादेशलाई १ सय ३७ रनले हराएको थियो । यता अफगानिस्तान पहिलो जितको लक्ष्यमा छ । यसअघि अफगानिस्तान बंगलादेशसँग ६ विकेट र भारतसँग ८ विकेटले स्तब्ध बनेको थियो ।