काठमाडौं । एसिसी एसिया कपमा विश्व क्रिकेटका महारथी देशहरु पाकिस्तान र भारतसँग खेलेको नेपाली क्रिकेट टोली बुधबार स्वदेश फर्किएको छ ।
नेपाली टोली दिउँसो १ २ः ३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । टाेलीलाई नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीले स्वागत गरेका थिए ।
नेपाल समूह ‘ए’ को दुवै खेलमा पराजित नेपाल सुपर चारमा पुग्न सकेन। नेपाल पहिलो खेलमा पाकिस्तानसँग दुई सय ३८ रनले पराजित भएको थियो ।
पाकिस्तानले दिएको ३ सय ४२ रनको लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा सबै विकेट गुमाउँदा १ सय ४ रनमा समेटिएको थियो । नेपालविरुद्ध पाकिस्तानका कप्तान बाबर आजमले १ सय ५१ तथा इफ्तिकर अहमदले १ सय ९ रन बनाएका थिए ।
दोस्रो खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको थियो। निर्धारित ५० ओभरमा नेपालले दुई सय ३० रन बनाएको थियो । तर, वर्षाले खेल प्रभावित भएपछि भारतले १ सय ६७ रनको नयाँ लक्ष्य पायो । भारत २०.१ ओभरमा विना विकेट विजयी भयो । कप्तान रोहित शर्माले ७४ र सुभमन गिलले ६७ रन बनाएका थिए ।
यसअघि नेपालको इनिङमा ओपनर आसिफ शेखले अर्धसतक बनाएका थिए । ९७ बल खेलेका आसिफले आठ चौकासहित ५८ रन बनाए । अर्का ओपनर कुशल भुर्तेलले ३८ रन जोडे । दुईबीच पहिलो विकेटको लागि ६५ रनको बलियो साझेदारी भएको थियो । सोमपाल कामीले ४८ रनको योगदान गरेपछि नेपाल दुई पटककको विश्व च्याम्पियन भारतविरुद्ध ठूलो स्कोर बनाउन सकेको थियो ।
यसअघि नेपाल घरेलु मैदानमा भएको एसिसी प्रिमियर कपमा संयुक्त अरब इमिरेट्स (युएई) लाई पराजित गर्दै एसिया कपलाई छनोट भएको हो ।