एसिसी एसिया कप

एसिसी एसिया कपः उद्घाटन खेलमा नेपालले पाकिस्तानको सामना गर्ने

फाइल तस्बिर

काठमाडौं । अगस्ट ३० देखि सेप्टेम्बर १७ (भदौ १३ देखि ३१) सम्म हुने एसिसी  एसिया कपको खेल तालिका सार्वजनिक भएको छ ।

एसियन क्रिकेट काउन्सिल (एसिसी) ले मंगलबार सार्वजनिक गरेको तालिका अनुसार उद्घाटन खेलमा नेपालले घरेलु टोली पाकिस्तानको सामना गर्नेछ । उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रंगशालामा हुनेछ ।

यसैगरी नेपालले सेप्टेम्बर ४ मा श्रीलंकाको केन्डीमा भारतसँग समूह चरणको अन्तिम खेल खेल्नेछ ।  

यस संस्करणको एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिता हाइब्रिड मोडल अनुसार पाकिस्तान र श्रीलंकामा हुनेछ ।

एसिया कपका लागि पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले प्रस्ताव गरेको हाइब्रिड मोडललाई एसिसीले अनुमोदन गरेको थियो ।

प्रतियोगिताका १३ मध्य चार खेल पाकिस्तान तथा नौ खेल श्रीलंकामा हुनेछन् । भारतले आफ्ना सम्पूर्ण खेल तथस्ट भुमी श्रीलंकामा खेल्नेछ ।  

पाकिस्तानले सुरुमा युएईलाई दोस्रो स्थलको रूपमा प्रस्ताव गरेको थियो । सो समयमा युएईमा हुने गर्मीलाई मध्यनजर गरेर पाकिस्तान पछि हटेको बुझिएको छ ।

एसिया कपमा नेपालसँगै भारत र पाकिस्तान समूह ‘ए’ मा छन् । अर्को समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।

प्रत्येक समूहका शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन् । त्यसपछि शीर्ष दुई टोलीले फाइनल प्रतिस्पर्धा गर्नेछन् ।