नेपाली क्रिकेट

नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग अभ्यास खेल खेल्ने

फाइल फोटो

काठमाडौं । आइसिसी विश्वकप छनोटका लागि अन्तिम तयारीका लागि दक्षिण अफ्रीकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले नेदरल्यान्ड्स र स्कटल्यान्डसँग एकदिवसीय  अभ्यास खेल खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपालले जेठ २५ र २७ मा अभ्यास खेल खेल्ने छ । नेपालले जेठ २५ मा स्कटल्यान्ड तथा जेठ २७ गते नेदरल्यान्ड्सको सामना गर्नेछ ।

नेपाली टोली मंगलबार राती दक्षिण अफ्रीका प्रस्थान गरेको थियो । नेपाल दक्षिण अफ्रीकाबाटै जिम्बावे जानेछ ।

आइसिसी विश्वकप छनोट (ग्लोबल क्वालिफायर) का लागि रोहितकुमार पौडेलको कप्तानीमा र १६ सदस्यीय टोली घोषणा भइसकेको छ ।

टोलीमा रहेका स्पिन सन्दीप लामिछानले भने दक्षिण अफ्रीका गएका छैनन् । आफूविरुद्धको बलात्कार मुद्दाको फैसला नभएका कारण सन्दीप दक्षिण अफ्रीका जान नपाएका हुन्  । 

नेपाल दक्षिण अफ्रीकाबाटै जिम्बावे जानेछ ।

जुन १८ देखि जुलाई ९ सम्म हुने छनोटामा आयोजक जिम्बावे, नेपाल, आयरल्यान्ड, नेदरल्यान्ड्स, ओमान, स्कटल्यान्ड, युनाइटेड अरब इमिरेट्स (युएई), अमेरिका र वेस्ट इन्डिज  गरी १० टोलको सहभागिता छ ।

नेपालले  जुन १८(असार ३) मा घरेलु टोली जिम्बावेसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। यसैगरी नेपालले जुन २० (असार ५) मा अमेरिका २२ जुन (असार ७) मा वेस्ट इन्डिज र २४ जुन (असार९) मा नेदरल्यान्ड्ससँग खेल्नेछ ।

सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल र आयोजक जिम्बावे सहित वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका तथा समूह ‘बी’ मा  श्रीलंका, आयरल्यान्ड,स्कटल्यान्ड, ओमान र युएई छन् ।

समूह चरणमा प्रत्यक राष्ट्र चारले खेल खेल्नेछन् । प्रत्यक समूहका शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउनेछन् ।

सुपर सिक्सको शीर्ष दुई टोली अक्टोबरमा भारतमा आयोजना हुने आइसिसी एकदिवसीय विश्वकपका लागि छनोट हुनेछन् ।

१३ राष्ट्र सहभागी विश्वकप सुपर लिगका शीर्ष आठ टोली आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बंगलादेश, इङ्ल्यान्ड दक्षिण अफ्रिका र अफगानिस्तानले सिधै विश्वकपमा स्थान बनाइसकेका छन् ।