ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला

नेपालको लगातार दोस्रो जित

काठमाडौं । नेपालले पाँच खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको तेस्रो खेलमा घरेलु टोली मलेसियामाथि २७ रनको जित निकालेको छ ।

जितसँगै नेपालले शृंखलामा २-१ को अग्रता लिएको छ । पहिलो खेलमा मलेसिया पाँच तथा दोस्रो खेलमा नेपाल सात विकटले विजयी भएका थिए ।

वाइएसडी यूकेएम ओभलमा नेपालले प्रस्तुत गरेको एक सय १० रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभर नै ब्याटिङ गरे पनि चार विकेट गुमाउँदै ८३ रन मात्र बनाउन सक्यो ।

मलेसियाका लागि माहिरा स्माइलले अविजित ४४ र विनीफ्रेड दुराईसिंगमले २० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि इन्दु बर्मा, सीता राना र कविता कुँवरले समान एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय १० रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि कप्तान रुबिना क्षेत्रीले २७, ज्योति पाण्डेले २३, सीता राना मगरले २१ र इन्दु बर्माले २० रन बनाए ।

मलेसियाको लागि निक नुर अतिलाले दुई तथा आइश्या एलिसा र विनीफ्रेड दुराईसिंगमले समान एक विकेट लिए ।

शृंखलाको चौथो खेल शनिबार हुनेछ ।