काठमाडौं । आइसिसी विश्वकप छनोट (ग्लोबल क्वालिफायर) को तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली बुधबार दक्षिण अफ्रिका प्रस्थान गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले रोहितकुमार पौडेलको कप्तानीमा आइतबार १६ सदस्यीय टोली घोषणा गरेको थियो । नेपालले दक्षिण अफ्रिकामा नेदरल्यान्ड्स र स्कटल्यान्डविरुद्ध अभ्यास खेल खेल्नेछ । नेपाली टोली दक्षिण अफ्रिकाबाटै जिम्बाब्वे प्रस्थान गर्नेछ ।
जुन १८ देखि जुलाई ९ सम्म हुने छनोटामा आयोजक जिम्बावे, नेपाल, आयरल्यान्ड, नेदरल्यान्ड्स, ओमान, स्कटल्यान्ड, युनाइटेड अरब इमिरेट्स (युएइ), अमेरिका र वेस्ट इन्डिज गरी १० टोलको सहभागिता छ ।
नेपालले जुन १८(असार ३) मा घरेलु टोली जिम्बावेसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। यसैगरी नेपालले जुन २० (असार ५) मा अमेरिका २२ जुन (असार ७) मा वेस्ट इन्डिज र २४ जुन (असार९) मा नेदरल्यान्ड्ससँग खेल्नेछ ।
सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल र आयोजक जिम्बावे सहित वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका तथा समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड,स्कटल्यान्ड, ओमान र युएई छन् ।
समूह चरणमा प्रत्यक राष्ट्र चारले खेल खेल्नेछन् । प्रत्यक समूहका शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउनेछन् ।
सुपर सिक्सको शीर्ष दुई टोली अक्टोबरमा भारतमा आयोजना हुने आइसिसी एकदिवसीय विश्वकपका लागि छनोट हुनेछन् ।
१३ राष्ट्र सहभागी विश्वकप सुपर लिगका शीर्ष आठ टोली आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बंगलादेश, इङ्ल्यान्ड दक्षिण अफ्रिका र अफगानिस्तानले सिधै विश्वकपमा स्थान बनाइसकेका छन् ।