ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला

दोस्रो खेलमा नेपाल विजयी

काठमाडाैं । कप्तान रुबिना क्षेत्रीको अलराउन्ड प्रदर्शनप्रेरित नेपालले पाँच खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा घरेलु टोली मलेसियामाथि सात विकेटको जित निकालेको छ ।

नेपालको यो जितसँगै शृंखला १-१ को बराबरीमा आएको छ । पहिलो खेलमा मलेसिया पाँच विकेटले विजयी भएको थियो ।

वाइएसडी यूकेएम ओभलमा मंगलबार सम्पन्न खेलमा मलेसियाले प्रस्तुत गरेको ९७ रनको लक्ष्य नेपालले १७. ३ ओभरमा तीन विकेट गुमाउँदै भेट्टायो ।

नेपालका लागि कप्तान रुबिनाले अविजित २९, कविता कँवरले २६, सीता राना मगरले २३ र विन्दु रावलले १७ रन जोडे ।

मलेसियाका लागि आइश्या एलिसा, निक नुर अतिला र विनीफ्रेड दुराईसिंगमले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ९६ रनको योगफल तयार पारेको थियो ।

मलेसियाको लागि मास एलिसा २८, विनीफ्रेड दुराइसिंगम र वान जुलियाले समान २० तथा हामिजाह हासिमले अविजित १४ रन बनाए ।

नेपालका लागि कप्तान रुबिनाले दुई तथा इन्दु बर्मा र कविता कुँवरले समान एक विकेट लिए ।

शृंखलाको तेस्रो खेल बिहीबार हुनेछ ।