आइपिएल

गुजतरात फाइलनमा

काठमाडौं । शुभमन गिलको शतक तथा मोहित शर्माको घातक बलिङप्रेरित साबिक विजेता गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग(आइपिएल) को फाइनलमा पुगेको छ ।

गुजरातले अहमदाबादस्थित घरेलु मैदान नरेन्द्र मोदी स्टेडियममा शुक्रबार सम्पन्न दोस्रो क्वालिफायरमा पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सलाई ६२ रनले पराजित गरेको हो ।  

गुजरातले प्रस्तुत गरेको दुई सय ३४ रनको लक्ष्य पछ्याएको मुम्बई १८.२ ओभरमा एक सय ७१ रनमा समेटियो।

मुम्बईका लागि सूर्यकुमार यादवले ३८ बलमा सात चौका र दुई छक्काको मद्दतमा सर्वाधिक ६१ रनको योगदान गरे। यसैगरी तिलक बर्माले ४३ तथा क्यामरुन ग्रिनले ३० रन जोडे । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

गुजरातका लागि शर्माले २.२ ओभरमा १० रन खर्चेर पाँच विकेट लिए । यसैगरी मोहम्मद शामी र राशिद खानले समान दुई तथा जोशुवा लिटिलले एक विकेट लिए ।

यसअघि टस हारेर  ब्याटिङको निम्तो पाएको गुजरातले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै दुई सय ३३ रनको योगफल तयार थियो ।

गुजरातका लागि युवा ब्याटर गिलले ६० बलमा १० छक्का र सात चौकाको मद्दतमा एक सय २९ रन बनाए । यसैगरी साई सुदर्शन ४३ रनमा रिटायर्ड हर्ट भए । कप्तान हार्दिक पान्ड्याले अविजित २८ र ऋद्धिमान शाहले १८ रन जोडे ।

गिलले दोस्रो विकेटका लागि सुदर्शनसँग एक सय ३८ तथा पहिलो विकेटका लागि शाहसँग ५४ रनको साझेदारी गरे ।

मुम्बईका आकाश माधवाल र पियुष चवालाले समान एक विकेट लिए ।

गुजरातलेनरेन्द्र मोदी स्टेडियममै आइतबार हुने फाइनलमा चेन्नई सुपर किंग्सको सामना गर्नेछ । चेन्नई पहिलो क्वालिफायरमा गुजरातलाई १५ रनले हराउँदै फाइनल पुगेको थियो ।