आइपिएल

पन्जाबसँग दिल्ली पराजित

काठमाडौं । प्रभसिम्रन सिंहको शतकप्रेरित पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा घरेलु टोली दिल्ली क्यापिटल्सलाई ३१ रनले पराजित गरेको छ ।

जितसँगै १२ खेलमा खेलमा १२ अंक जोडेर छैटौं स्थानमा उक्लिएको पञ्जाबले प्लेअफ सम्भावना जिवितै राखेको छ । पराजयसँगै समान खेलबाट आठ अंकका साथ पुछारमा रहेको दिल्लीको भने प्ले अफ सम्भावना सकिएको छ ।

अरुण जेट्ली स्टेडियममा शनिबार सम्पन्न खेलमा पन्जाबले प्रस्तुत गरेको  एक  सय ६८ रनको लक्ष्य पछ्याएको दिल्लीले  २० ओभर नै ब्याटिङ गरे पनि आठ विकेट गुमाउँदै एक सय ३६ रन मात्र बनाउन सक्यो ।

दिल्लीका लागि कप्तान डेविड वार्नरले २७ बलमा १० चौका र एक छक्काको मतद्दतमा ५४ रन बनाए । यसैगरी फिलिप साल्टले २१, अमन खान  र प्रविन दुवेले समान १६ तथा कुलदीप यादवले अविजित १० रन जोडे ।

पहिलो विकेटका लागि वार्नर र साल्टले ६९ रनको साझेदारी गरेका थिए ।

पन्जाबका लागि हरप्रित ब्रारले चार तथा राहुल चहर र नाथन एलिसले समान दुई विकेट लिए ।

यसअघि टस हारेर  ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ६७ रनको योगफल तयार पारेको थियो ।

पन्जाबका लागि  सिंहले ६५ बलमा १० चौका र ६ छक्काको मद्दतमा एक सय ३ रन बनाए ।  आइपिएलमा सिंहको यो पहिलो शतक हो । यसैगरी साम करनले २० र सिकन्दर राजाले अविजित ११ रन बनाए ।

चौथो विकेटका सिंह र करनले ७२ रनको साझेदारी गरेका थिए ।

दिल्लीका लागि इशान्त शर्माले दुई तथा प्रविन दुवे, अक्षर पटेल, कुलदिप यादव र मुकेश कुमारले समान एक  विकेट लिए।