ललितपुर मेयर्स कप

कोशी फाइनलमा

काठमाडौंं । मधेस प्रदेशलाई ६२ रनले पराजित गर्दै कोशी प्रदेश ललितपुर मेयर्स कप महिला ट्वान्टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेका छ ।

यस जितसँगै चार खेलमा ६ अंकका साथ कोशीले दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । पराजय ब्यहोरेको मधेस भने समान खेलबाट दुई अंकका साथ चौथो स्थानमा रह्यो ।

कोशीको यस जितसँगै सुदूरपश्चिम प्रदेश पनि चार खेलमा चार अंकका साथ तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा मंगलबार सम्पन्न खेलमा कोशीले प्रस्तुत गरेको एक सय ६ रनको लक्ष्य पछ्याएको मधेसले २० ओभर नै ब्याटिङ गरे पनि नौ विकेट गुमाउँदै ४३ रन मात्र बनाउन सक्यो ।

मधेसका लागि सरस्वती चौधरीले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कोशीका लागि निशा शाह,कप्तान रुबिना क्षेत्री र अलिशा खडियाले समान दुई तथा सबनम राईले एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कोशीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय पाँच रनको योगफल तयार पारेको थियो ।

कोशीका लागि रुबिना क्षेत्रीले ३९, काजल श्रेष्ठले २२, अप्सरी बेगमले १९ र स्मृती कटुवालले १० रन जोडे ।

पहिलो विकेटका लागि रुबिना र काजलले ४० रनको साझेदारी गरेका थिए ।

मधेसका लागि अमिरन निशा, सन्तोषी चौधरी र अमिषा पटेलले समान दुई  विकेट लिए ।

यसअघि ललितपुर मेयर्स-११ लाई सात तथा सुदूरपश्चिम प्रदेशलाई नौ विकेटले हराएको कोशी विभागीय टोली नेपाल एपिएफ क्लबसँग सात विकेटले पराजित भएको थियो ।

यसअघि विभागीय टोली नेपाल एपिएफ क्लबसँग १० तथा सुदूरपश्चिम प्रदेशसँग सात विकेटले पराजित भएको मधेसले ललितपुरलाई एक विकेटले हराएको थियो ।

कोशीले उपाधिका लागि एपिएफ क्लबको सामना गर्नेछ । एपिएफले मंगलबार नै सम्पन्न खेलमा ललितपुरलाई ३७ रनले पराजित गर्दै शतप्रतिशत जितका साथ शीर्ष स्थानमा रहँदै फाइनलमा स्थान बनाएको हो ।