काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल)को फ्रेन्चाइज टोली गण्डकी थन्डर्सले असोज ९ गते ‘ट्यालेन्ट हन्ट’ गर्ने भएको छ ।
कार्यक्रम पोखरा रंगशालामा बिहान ८ः३० बजेदेखि सुरु हुनेछ । यसमा कुनै पनि राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिता नखेलेका गण्डकी प्रदेशका खेलाडीले सहभागिता जनाउन पाउनेछन् ।
मुख्य प्रशिक्षक रुपेशकुमार विष्ट र मार्की खेलाडी सरस्वती चौधरीसहितको व्यवस्थापन टोलीले खेलाडी छनोट गर्नेछ ।
आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले नेपाली भलिबल इतिहामै पहिलो पटक हुन लागेको प्रतियोगिताका फ्रेन्चाइजले एक खेलाडी ‘ट्यालेन्ट हन्ट’ बाट छनोट गर्नुपर्ने नियम बनाएको छ ।
‘ट्यालेन्ट हन्ट’ बाट खेलाडी छनोट गरेपछि गण्डकीको पूर्ण टोली तयार हुनेछ । टोलीले यसअघि नै विदेशी कोटा पूरा गरिसकेको छ ।
गण्डकीले रुसका एलिसा रुबियक र एकातोरिना जुभ्यागिन्त्सेभा तथा भारतकी शिल्पा सिन्धुलाई अनुबन्ध गरेको छ ।
प्रतियोगिता असोज १४ देखि १९ सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।
प्रतियोगितामा मधेश युनाइटेड, काठमाडौं स्पाइकर्स, चितवन शक्ति, ललितपुर क्विन्स, गण्डकी थन्डर्स र टिम कर्णाली यसभिसले सहभागिता जनाउने छन् ।
गण्डकी थन्डर्सको टोली
सुरस्वती चौधरी, प्रगति नाथ, कविता भट्ट, रीमा कुँवर, आरती चौधरी, स्नेहा ठगुन्ना, लक्ष्मी चन्द, सरस्वती जैसी, एलिसा रुबियक, सिल्पा सिन्धु, एकातोरिना जुभ्यागिन्त्सेभा