काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) को फ्रेन्चाइज टोली गण्डकी थन्डर्सले तेस्रो विदेशी खेलाडीका रूपमा रुसकी एकातोरिना जुभ्यागिन्त्सेभालाई अनुबन्ध गरेको छ ।
आउटसाइड हिटर जुभ्यागिन्त्सेभाले रसियन घरेलु लिगमा चर्चित खेलाडी हुन्। उनले रुस र मंगोलियाको घरेलु प्रतियोगिता खेलेकी छन् ।
जुभ्यागिन्त्सेभाले सन् २०१७ र २०१८ मा यु-२० रसियन लिग तथा सन् २०२३/२४ मा मंगोलियन प्रिमियर लिग खेलेकी छन् ।
गण्डकीले यसअघि रसियन खेलाडी एलिसा रुबियक र भारतकी शिल्पा सिन्धुलाई अनुबन्ध गरेको थियो ।
नेपाली राष्ट्रिय भलिबल टोलीकी प्रमुख खेलाडी सरस्वती चौधरी मार्की प्लेयर रहेको गण्डकीले रुपेशकुमार बिष्टलाई प्रशिक्षणको जिम्मेवारी सुम्पिएको छ ।
प्रतियोगिता असोज १४ देखि १९ सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।
इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा नेपाली भलिबल इतिहामै पहिलो पटक हुन लागेको प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले सहभागिता जनाउने छन् ।
प्रतियोगितामा मधेश युनाइटेड, काठमाडौं स्पाइकर्स, चितवन शक्ति, ललितपुर क्विन्स, गण्डकी थन्डर्स र कर्णाली यसभिसले सहभागिता जनाउने छन् ।
पोखराले अब ‘ट्यालेन्ट हन्ट’बाट एक खेलाडी अनुबन्ध गर्न बाँकी छ ।
गण्डकी थन्डर्सको टोली
सुरस्वती चौधरी, प्रगति नाथ, कविता भट्ट, रीमा कुँवर, आरती चौधरी, स्नेहा ठगुन्ना, लक्ष्मी चन्द, सरस्वती जैसी, एलिसा रुबियक, सिल्पा सिन्धु, एकातोरिना जुभ्यागिन्त्सेभा