काभा महिला च्यालेन्ज कप भलिबल प्रतियोगिता

नेपाल भारतसँग पराजित

फाइल फोटो

काठमाडौं । घरेलु टोली नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला च्यालेन्ज कप भलिबल प्रतियोगितामा भारतसँग पराजित भएको छ ।

नेपाल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा बुधबार सम्पन्न समूह चरणको आफ्नो अन्तिम खेलमा ३-१ को सेटमा पराजित भएको हो ।

सुरुआती दुई सेट १२-२५, २४-२६ ले गुमाएको नेपालले तेस्रो खेल २५-२१ ले आफ्नो पक्षमा पार्दै खेलमा फर्किने संकेत दिएको थियो । तर, नेपालले चौथो सेट २१-२५ ले गुमायाे । 

काभा च्याम्पियनसिपमा नेपालको यो पहिलो हार हो । नेपाल यसअघिका दुई संस्करणमा अपराजित रहँदै विजेता बनेको थियो ।

जित सँगै तीन खेलमा आठ अंक जोडेको भारत समूह ‘ए’ को विजेता बन्यो । नेपाल समान खेलबाट सात अंकका साथ दोस्रो स्थानमा रह्यो ।

अब शुक्रबार हुने सेमिफाइनलमा भारतले उज्वेकिस्तान तथा नेपालले काजकिस्तानको सामना गर्नेछन् ।

अघिल्ला खेलमा  नेपाल र भारतले किर्गिस्तान र बंगलादेशलाई समान ३-० को सोझो सेटमा पराजित गरेको गरेका थिए ।

उज्वेकिस्तानलाई ३-१ को सेटमा पराजित गर्दै काजकिस्तानले समूह ‘बी’ बाट विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको हो ।

यसैगरी बुधबार नै सम्पन्न समूह ‘ए’ को खेलमा किर्गिस्तानले बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।

दिनको अन्तिम खेलमा समूह ‘बी’ का श्रीलंका र माल्दिभ्स भिड्दैछन् ।