काभा महिला च्यालेन्ज कप भलिबल प्रतियोगिता

काजकिस्तान समूह विजेता

फाइल फोटो

काठमाडौं । उपाधि दावेदार काजकिस्तानले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला च्यालेन्ज कप भलिबल प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ ।

काजकिस्तानले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा बुधबार सम्पन्न समूह चरणको आफ्नो अन्तिम खेलमा उज्वेकिस्तानलाई ३-१ को सेटमा पराजित गरेको हो ।

निकै प्रतिस्पर्धात्मक बनेको पहिलो सेट २४-२६ ले गुमाए पनि उज्वेकिस्तानले त्यसपछिका सेट २५-१६, २५-११ र २५-१८ ले आफ्नो पक्षमा पारेको हाे । 

जितसँगै समूह ‘बी’ को काजकिस्तान नौं अंक जोड्दै समूह विजेता बन्यो । पहिलो पराजय ब्यहोरेको उज्वेकिस्तान समान खेलटबाट ६ अंकका साथ दोस्रो स्थानमा रह्यो ।

काजकिस्तानले सेमिफाइनलमा शुक्रबार नेपाल र भारतबीचको खेलमा पराजित हुने टोलीको समान गर्नेछ भने उज्वेकिस्तानले विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

यसअघि काजकिस्तानले माल्दिभ्सलाई ३-० तथा श्रीलंकालाई ३-१ को सेटमा हराएको थियो । यसैगरी उज्वेकिस्तानले श्रीलंका र माल्दिभ्सलाई समान ३-० को सोझो सेटमा पराजित गरेको थियो ।

आजै सम्पन्न  पहिलाे खेलमा समूह ‘ए’ को किर्गिस्तानले बंगलादेशमाथि ३-० को सोझो सेटमा जित निकालेको थियो । बुधबार नै  दिउँसो ३ बजे नेपाल र भारत तथा साँझ ५ः३० बजे श्रीलंका र माल्दिभ्स भिड्दै छन् ।