काठमाडौं । स्ट्याग ग्लोबल च्याम्पियन्स टेबलटेनिस लिग, सिजन-२ को सेमिफाइनल समीकरण पूरा भएको छ ।
बिहीबार लिग चरणको सम्पूर्ण खेल सकिएसँगै सेमिफाइनल पुग्ने चार टोलीको टुंगो लाग्यो ।
सेमिफाइलनमा साविक उपविजेता नेपाल प्रहरी क्लबले अर्को विभागीय टोली नेपाल एपिएफ क्लबको सामना गर्नेछ । अर्को सेमिफाइनल नव प्रवेश टोली यल टेबलटेनिस एकेडेमी र आयोजक स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीबीच हुनेछ ।
सेमिफाइनल पुगेका ४ टोली मध्ये एपिएफले मात्र विदेशी खेलाडी अनुबन्ध गरेको छैन । बाँकी ३ टिमले समान २ भारतीय खेलाडीलाई आफ्नो टिममा समावेश गरेका छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा लिगको अन्तिम दिन प्रहरी ६९ अंक, यल ६६ अंक, स्ट्याग ६५ अंक र एपिएफ ३६ अंक जोड्दै शीर्ष चार स्थानमा रहे ।
७ टिम सहभागी प्रतियोगितामा होप्स टेबलटेनिस एकेडेमी ३५ अंकसाथ पाँचौं, रेड टाइल्स २८ अंकसाथ छैटौं र ज्ञानभैरव डिल्लीबजार टेबलटेनिस क्लब १२ अंकसाथ सातौं स्थानमा रहँदै यात्रा टुंगाए ।
सेमिफाइनल शुक्रबार हुनेछ ।