काठमाडाैं । नेपाली पैडीबाज गौरिका सिंहले जापानको फुकुओकामा जारी २०औँ संस्करणको वर्ल्ड एक्वाटिक च्याम्पियनसीपमा अर्को राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।
५०मिटर ब्याकस्ट्रोकमा गौरिकाले आफ्नै नाममा रहेको कीर्तिमान सुधार गर्दै ३१.४४ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी गराएका छन् ।
गौरिकाले बुधबार सन् २०१६ मा गोहाटीमा आयोजना भएको १२औं साग गेम्समा राखेको ३१.८७ सेकेन्डको कीर्तिमान सुधार गरेकी हुन् ।
गौरिकाले यसै च्याम्पियनसीपमा १ सय मिटर ब्याकस्ट्रोकमा पनि नयाँ किर्तिमान राखेकी थिइन् ।
ओलम्पिकको छनोट प्रतियोगिता समेत रहेको च्याम्पियनसीपको आज भएको पुरुष तर्फको १ सय मिटर फ्रिस्टायलमा एलेक्जेन्डर शाहले पनि सामान्य सुधार गर्दै नयाँ किर्तिमान कायम गरेका छन् ।
एलेक्सले हालै सम्पन्न ११औं एनएसए कप च्याम्पियनसीपमा बनाएको ५२.९६ सेकेन्डको कीर्तिमान सुधार्दै ५२.९४ समयका साथ नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् ।
मंगलबार सम्पन्न प्रतियोगितामा डुवाना लामाले २ सय मिटर फ्रिस्टायलमा आफ्नो व्यक्तिगत समयमा सुधार गर्दै २ मिनट १२.४६ दुरी पूरा गरेकी थिइन् । यसअघि डुवानको व्यक्तिगत समय २ मिनेट १५.०१ समय रहेको थियो । यस विधामा गौरिकाको नाममा २ मिनेट ११.९४ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ ।
अब नेपाली खेलाडीको दुई खेल बाँकी छ । बिहिबार डुवाना लामाले १ सय मिटर फ्रिस्टायल र एलेक्सले शुक्रबार ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछन् ।