काठमाडौं । आयोजक काष्ठमण्डप विद्यालयका टिमले तेस्रो काष्ठमण्डप कपअन्तर्गत बास्केटबलको छात्र तथा फुटसलको जुनियर ब्वाइजमा फाइनल यात्रा पक्का गरेका छन् ।
बास्केटबलमा काष्ठमण्डपको ‘ए’ टिमसँगै दीक्षालयले पनि फाइनलको ढोका खोलेको थियो । आयोजक स्कुलको मण्डिखटारस्थित कोर्टमा मंगलबार भएका सेमिफाइनलमा काष्ठमण्डपको ‘ए’ले इम्पेरियल वर्ल्डमाथि ३३–७ को फराकिलो अन्तरमा पराजित गर्यो भने दीक्षालयले मातृभूमिमाथि १९–१३ को जित हासिल गर्यो ।
यसैगरि छात्रतर्फ टिआइएले बुढानिलकण्ठ ४४–२० तथा मातृभूमिले मल्पी सिटीमाथि ६०–३७ को अन्तरमा जित हासिल गर्दै फाइनल भिडन्त पक्का गरे ।
प्रतियोगिताको फुटसलतर्फ सिनियर ब्वाइजमा मातृभूमिले दी एक्सेल्सियर स्कुललाई टाई–ब्रेकरमा ३–२ को नतिजामा निराश पार्दै वेद व्यासविरुद्धको फाइनलमा स्थान सुरक्षित गरेको छ । निर्धारित समय १–१ को बराबरीमा टुंगिएपछि सेमिफाइनलको निर्णय टाई–ब्रेकरबाट लिइएको थियो ।
जुनियर ब्वाइजमा काष्ठमण्डपको ‘ए’ र विद्यावाणी पाठशालाले फाइनलको यात्रा तय गरे । सेमिफाइनलमा काष्ठमण्डपले पुष्पाञ्जलीमाथि ३–० तथा विद्यावाणीले एक्सेल्सियरमाथि १–० को जित हासिल गरेका थिए ।
