काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) को आयोजनामा यु-१४ विद्यालयस्तरीय खेलकुद प्रतियोगिता जेठ २२ गते देखि २६ गते सम्म काठमाडौंमा हुने भएको छ ।
प्रतियोगितामा क्रिकेट, एथलेटिक्स, टेबलटेनिस, बास्केटबल र रग्बीलाई सामावेश गरिएको राखेपका प्रतियोगिता विभाग प्रमुख मीनकुमार शर्माले जानकारी दिए । क्रिकेटबाहेका खेलमा छात्र/छात्रा दुवैतर्फ प्रतिस्पर्धा हुनेछ ।
एथलेटिक्स र रग्बी २२ र २३ गते दशरथ रंगशालामा हुनेछ । सोही ब्याटमिन्टनका प्रतस्पर्धा देवीनगर हल बानेश्वरमा हुनेछ ।
यसैगरी टेबल टेनिस लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्र र बास्केटबल राखेप कभर्डहल त्रिपुरेश्वरमा खेलाइने छ । छात्र क्रिकेट भने २२ गते देखि २६ गतेसम्म मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगिता विभाग प्रमुख शर्माले जानकारी दिए ।
एथलेटिक्सको ट्याकतर्फ १००, २००, ४००, ८०० मिटर तथा ४ गुणा १०० मिटर रिले दौड र फिल्डतर्फ लङजम्पमा प्रतिस्पर्धा हुनेछन् । टेबल टेनिस र ब्याडमिन्टनमा छात्र/छात्रा सिंगल तथा डबल्सका स्पर्धा समावेश गरिएको छ ।
यस्तै बास्केटबलमा छात्र छात्र थ्री बाई थ्री र रग्बीको छात्र छात्रातर्फ प्रतिस्पर्धा हुनेछ ।