पलेशा गोवर्धन

कांस्य विजेता पलेशा सम्मानित

काठमाडौं ।  नेपाल तेक्वान्दो संघले चौथो एसियाली पारा खेलकुदको तेक्वान्दोमा कांस्य पदक जितेकी पलेशा गोवर्धनलाई शुक्रबार नगदसहित सम्मान गरेको छ ।

नेपाल पारालिम्पिक कमिटीकी अध्यक्ष राधा घले र तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणाले पलेशालाई ३ लाख रुपौयाँ र प्रशंसापत्रले गरेका हुन् ।

सोही अवसरमा टोलीका प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।

लामालाई ७५ हजारसहित प्रशंसा पत्र तथा श्रेष्ठलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो । पलेशाका बुवा प्रदीप र आमा मनीता पनि सम्मानित भए ।

त्यसै कार्यक्रममा एभरेस्ट तेक्वान्दो केयर्स फाउन्डेसन, युएसले पनि पलेशा र लामालाई नगदसहित सम्मान गर्यो । फाउन्डेसनका नेपाल प्रतिनिधि बलराम कार्कीले पलेशालाई ५० हजार र लामालाई २० हजार नगदसहित सम्मान गरे ।

गत अक्टोबर २२ देखि २८ तारिखसम्म चीनको हाङझावमा भएको एसियाली पारा खेलकुदको तेक्वान्दोतर्फ के–४४ क्याटगोरीको महिला ५७ केजीमुनि पलेशाले नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी थिइन् । पलेशाले जितेको पदक नेपालले पारा एसियाली खेलकुदमा जितेको पहिलो पदक हो ।

पलेशाले करिअरमा जितेको यो तेश्रो अन्तर्राष्ट्रिय पदक हो । यसअघि पलेशाले एक स्वर्ण र एक कांस्य रजत जितेकी थिइन् ।

 पलेशाले टोकियो पारा ओलम्पिक २०२० मा दुई ‘बाउट’ जितेर इतिहास पनि रचेकी थिइन् । पलेशा ओलम्पिकमा दुई खेल जित्ने एक्ली नेपाली खेलाडी हुन् । कांस्य पदक भिडन्तमा पलेशा चीनकी खेलाडीसँग चुकेकी थिइन् ।