स्मृति राष्ट्रिय खुला टेबल टेनिस प्रतियोगिता

खुल्ला टेबल टेनिस प्रतियोगिताः विनेश र संयोग फाइनलमा

काठमाडौं । नेपाल प्रहरीका विनेश खनियाँ र संयोग कपाली १२ औं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबल टेनिस प्रतियोगिताको खुलातर्फ पुरुष सिंगल्समा आइतबार फाइनलमा प्रवेश गरेका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको सेमिफाइनलमा विनेशले गल्कोपाखाका चन्दन शाहीलाई ५-११, १४-१२, ११-७, ११-३ र ११-५ तथा संयोगले एभिएम टेबल टेनिस क्लबका रुविन महर्जनलाई ११-५, ५-११, ११-७, ११-४ र ११-४ को सेटमा पराजित गरे ।

अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा काठमाडौं जिल्ला टेबल टेनिस संघद्धारा आयोजित प्रतियोगिताको महिला सिंगल्समा राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठ र रविना महर्जन उपाधिका लागि भिड्ने छन् । 

प्रहरीकी नविताले आफ्नै क्लबकी यशस्वी अवाललाई ११-५, ११-७, ११-३ र ११-३ तथा सौभाग्य ज्वेलर्सकी रविनाले प्रहरीकी मन्जु सुवाललाई ११-९, ११-७, ५-११, ११-७ र ११-७ को सेटमा हराइन् ।

भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा गल्कोपाखाका चन्दन पहिलो भए । उनले फाइनलमा गोड स्पिन टेबलटेनिस क्लबका मुकेश महर्जनलाई ११-६, ११-७ र ११-९ को सोझो सेटमा पराजित गरे । गोड स्पिनका राजिप महर्जन र खोल्चापुकुका सुशिल वज्राचार्य तेश्रो भए ।

व्हीलचेयरको पुरुष सिंगल्समा अर्पण चुनाराले फाइनलमा बरुण मगरलाई सीधा सेटमा ११-८, ११-३ र ११-५ ले पाखा लगाउदै पहिलो भए । उक्त स्पर्धाको महिलामा लाली तामाङले शीर्ष स्थान हात पारिन् । लालीले पेमा छोक्पालाई ११-५, ११-८ र ११-८ को सोझो सेटमा पन्छाइन् ।

स्टेन्डिङको पुरुष सिंगल्समा विवेक राईले शिव थापालाई ११-२, ११-४ र ११-५ ले पराजित गर्दै पहिलो भए । सोही स्पर्धाको महिलामा पूजा सोतीले फाइनलमा अनु थापालाई ११-७, ११-५ र ११-९ ले हराउदै पहिलो स्थानमा रहिन् ।

पुरुष खुला टिम इभेन्टमा प्रहरीले फाइनलमा एभिएमलाई ३-० ले पाखा लगाउदै पहिलो बन्यो । कान्तिपुर भ्याली पिङपोङ क्लब र एपीएफ क्लब तेश्रो बने । प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।