शिरिष फाउन्डेसन

सुष्मा तामाङलाई शिरिष फाउन्डेसनको साथ

काठमाडौं । ओलम्पियन पौडीवाज शिरिष गुरुङले स्थापना गरेको शिरिष फाउन्डेसनले किशोरी बक्सिङ खेलाडी सुष्मा तामाङलाई एक वर्षका लागि प्रायोजन गर्ने भएको छ ।

फाउन्डेसनले तामाङलाई एक वर्षसम्म मासिक १५ हजार रुपैयाँका दरले नगद तथा खेल सामाग्री उपलब्ध गराउनेछ । आइतबार तामाङ र शिरिष फाउन्डेसनका कोषाध्यक्ष सपना गुरुङले एक वर्षे सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार फाउन्डेसनले एक वर्षको अवधिमा तामाङले सहभागिता जनाउने प्रत्येक प्रतियोगिताका लागि खेल पोशाक तथा सामाग्री उपलब्ध गराउनेछ । तामाङले आधिकारिक राष्ट्रिय र अन्तर्राष्ट्रिय वाहेकका प्रतियोगितामा फाउन्डेसनको पोशाक लगाएर प्रतिस्पर्धा गर्नुपर्नेछ । यसै गरी सम्झौता अवधिभित्र तामाङ घाइते वा विरामी परेमा फाउन्डेसनले उपचारको व्यवस्था गर्ने सम्झौतापत्रमा उल्लेख छ ।

फाउन्डेसनका सदस्य, कार्यालय सचिव एवं नेपाल पौडी संघका महासचिव जगतमान श्रेष्ठले सम्झौताअवधिमा तामाङले राम्रो प्रदर्शन गर्दै अघि बढे सम्झौता थप गरिने बताए । उनका अनुसार व्यावसायी शान्ति स्थपित शाक्यले नगद सहयोगको प्रायोजन गर्नेछिन् ।

कार्यक्रममा फाउन्डेसनले सहयोग उपलब्ध गराएकी पहिलो खेलाडी निमा घर्तीमगरले तामाङलाई फाउन्डेसनको तर्फबाट खेल सामाग्री हस्तान्तरण गरेकी थिइन् भने तामाङले निमालाई फाउन्डेसनको तर्फबाट उपहार प्रदान गरेकी थिइन् ।