काठमाडौं । दुई गोलको अग्रता जोगाउन नसक्दा अल नासर साउदी प्रो लिगमा बुधबार अल इत्तिहादसँग ३-२ ले पराजित भएको छ ।
जितसँगै ३० खेलमा ७१ अंक जोडेको अल इत्तिहाद शीर्ष स्थानमा कायम छ । पराजित अल नासर समान खेलबाट ६० अंकका साथ चौथो स्थानमा छ ।
अल अवाल पार्कामा पाहुना टोलीलाई जित दिलाउन करिम बेन्जेमा, एन’गोलो कान्टे र हुसेम औरले गोल गरे । अल नासरका लागि साडियो माने र आयमान याह्याले गोल गरे ।
खेलको तेस्रो मिनेटमै मानेको गोलमार्फत अल नासरले अग्रता लिएको थियो । ३७औं मिनेटमा याह्याले टोलीको अग्रता दोब्बर बनाए । तर अल नासरले दोस्रो हाफमा त्यसलाई जोगाउन सकेन ।
बेन्जेमाले ४९औं मिनेटमा गोल गर्दा खेल २-१ को स्थितीमा आयो । त्यसको तीन मिनेटपछि नै कान्टेले गोल गर्दै अल इत्तिहादलाई २-२ को बराबरीमा आयो ।
इन्जुरी समयमा औरले गोल गर्दै अल इत्तिहादलाई ३-२ ले अगाडि बढाए । इन्जुरी समयमै मुसा डायबीले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि अल इत्तिहाद १० खेलाडीमा समेटिएको थियो ।