काठमाडौं । इङ्लिस क्लब आर्सनलविरुद्ध समग्रमा ३-१ का जित निकाल्दै फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी) युइएफए च्याम्पियन्स लिगको फाइनल प्रवेश गरेको छ ।
पार्क डेस प्रिन्सेस रंगशालामा बुधबार सम्पन्न सेमिफकाइनलको दोस्रो लेगमा घरेलु टोली पिएजीले ले २-१ को जित निकाल्यो । पहिलो लेगमा पिएसजी १-० ले विजयी भएको थियो ।
पिएसजीलाई जित दिलाउन फाबियन रुइज र अचरफ हाकिमीले गोल गरे । आर्सनलका लागि बुकायो साकाले गोल गरे ।
खेलको २७औं मिनेटमा रुइजको गोलमार्फत पिएसजीले अग्रता लिएको थियो । ६९औं मिनेटमा भिटिन्हा पेनाल्टीमा चुक्दा पिएसजीले अग्रता दोब्बर बनाउने सुनौलो अवसर गुमायो ।
हाकिमीले ७२औं मिनेटमा गोल गर्दा पिएसजीको अग्रता दोब्बर भयो । त्यसको चार मिनेटपछि साकाले गरेको गोल आर्सनलका लागि सान्त्वना बन्यो ।
पिएसजी सन् २०१९/२० को सिजनपछि फाइनलमा पुगेको हो । त्यतीबेला जर्मन क्लब बायर्न म्युनिखसँग १-० ले पराजित हुँदा पिएसजी उपाधिबाट बञ्चित भएको थियो ।
पिएसजीले उपाधिका लागि इटालियन क्लब इन्टर मिलानको सामना गर्नेछ । इन्टर स्पेनको बार्सिलोनालाई समग्रमा ७-६ ले हराउँदै उपाधि नजिक पुगेको हो ।