काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा अंकतालिकाको पुछारमा रहेको सरस्वती युवा क्लबले ब्रिगेड ब्वाइज क्लबविरुद्ध ३–१ को जित हासिल गरेको छ । यो जितसँगै सरस्वतीले तत्कालका लागि रेलिगेसन क्षेत्र छाडेको छ ।
बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सम्पन्न १०औं चरणको खेलमा सरस्वतीलाई जित दिलाउन विशेष लामा, फत्तेमान घले र विज्ञान खड्काले गोल गरे । ब्रिगेड ब्वाइजका लागि अभिषेक लामाले गरेको गोल सान्त्वना बन्न पुग्यो ।
यो जितसँगै सरस्वती ९ अंक जोड्दै १२औं स्थानमा उक्लियो । सरस्वतीले तालिकामा सुधार गरेसँगै एक खेल कम खेलेको मध्यपुर युथ एसोसिएसन ८ अंकका साथ हालका लागि पुछारमा झरेको छ । समान अंक जोडेको नयाँबस्ती युवा क्लब गोल भिन्नताका आधारमा मध्यपुरभन्दा माथि छ । मध्यपुरले शुक्रबार १०औं चरणको खेलमा श्री कुमारी क्लबसँग खेल्ने तालिका छ । उक्त खेल मध्यपुरको पक्षमा गए सरस्वती पुनः रेलिगेसन क्षेत्रमा झर्नेछ ।
हारसँगै बिग्रेड ब्वाइजले तालिकामा आफ्नो स्थान सुधार गर्ने अवसर गुमायो । बिग्रेड ब्वाइज १२ अंक जोड्दै नवौं स्थानमा यथावत रह्यो । सरस्वतीविरुद्ध जित हासिल गरेको भए बिग्रेड ब्वाइज छैटौं स्थानमा उक्लिन्थ्यो ।
विशेष लामाले पहिलो हाफको अन्तिम मिनेटमा सरस्वतीलाई ब्रेक थ्रु दिलाएका थिए । खेलको ७६औं मिनेटमा फत्तेमानले सरस्वतीको अग्रतालाई दोब्बर बनाए । सात मिनेटपछि अभिषेकले ब्रिगेड ब्वाइजका लागि एक गोल फर्काए । थप गरिएको इन्जुरी समयमा विज्ञानले सरस्वतीको जित सुनिश्चित गरे ।
दिनको पहिलो खेलमा झापा एफसीले बाँसबारी क्लबविरुद्ध २–० को जित हासिल गर्यो । जितसँगै अंकतालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको झापालाई केहि राहत भएको छ ।
झापालाई जित दिलाउन शेरबहादुर धिमालले पहिलो हाफमा र अशिम जंग कार्कीले दोस्रो हाफमा गोल गरे । यो जितसँगै झापा हालका लागि आठौं स्थानमा उक्लिएको छ । हारसँगै १५ अंक जोडेको बाँसबारीको शीर्ष डिभिजनमा पुग्ने सम्भावना कमजोर बनेको छ । तीन खेल बाँकी रहेको अवस्थामा बाँसबारी दोस्रो स्थानको श्री भगवतीभन्दा ६ अंकले पछाडि छ । श्री भगवतीले एक खेल कम खेलेको छ ।
लिगमा बिहीबार दुई खेल हुनेछन् । पहिलो खेलमा तेस्रो स्थानको वीरगंज युनाइटेडले चौथो स्थानको ब्वाइज युनियन क्लबसँग प्रतिस्पर्धा गर्नेछ । खेल दिउँसो १२ः१५ बजे हुनेछ । दोस्रो खेलमा तालिकाका शीर्ष दुई टोली प्लानिङ ब्वाइज क्लब र श्री भगवती आमने सामने हुनेछन् । यो खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।