काठमाडौं । दोस्रो उपत्यकाव्यापी अन्तर पालिका खुला गोदावरी मेयर कप २०८२ मा बिहीबार तीन खेल हुँदैछन् । सबै खेल गोदावरी-१० झ्यालुन्टारस्थित निर्माणाधीन गोदावरी बहुउद्देश्यीय रंगशालामा हुनेछन् ।
पहिलो खेलमा समूह ‘बी’का दुई टोली काठमाडौं महानगरपालिका र मध्यपुर थिमी नगरपालिका आमने–सामने हुनेछन् । काठमाडौंसँग प्रतिस्पर्धा गरिरहँदा मध्यपुरलाई पहिलो संस्करणमा बेहोरेको पराजयको बदला लिने अवसर हुनेछ । पहिलो संस्करण यी दुई टोलीको भेट सेमिफाइनल भिडन्तमा भएको थियो । जहाँ काठमाडौंले मध्यपुरलाई १–० ले निराश पारेको थियो ।
मध्यपुरलाई हराए काठमाडौंले सेमिफाइनल समीकरणमा आफ्नो स्थान सुरक्षित गर्नेछ । काठमाडौंले हारे तीनवटै टोलीको अन्तिम चार पुग्ने सम्भावना जीवितै रहनेछन् । लिग कम नकआउट ढाँचामा खेलाइएको प्रतियोगितामा साबिक विजेता काठमाडौंले समूहको पहिलो खेलमा चांगुनारायण नगरपालिकामाथि ५-० को सहज जित हासिल गरेको थियो । काठमाडौं र मध्यपुरबीचको खेल बिहान ८ः१५ बजे हुने तालिका छ ।
दोस्रो खेलमा समूह ‘सी’का दुई टोली भिड्नेछन् । दिउँसो १२ः१५ बजे सुरु हुने खेलमा गत संस्करणको उपविजेता चन्द्रागिरी नगरपालिकाले कागेश्वरी मनोहरा नगरपालिकासँग खेल्नेछ । दुबै टोली पहिलो जितको लक्ष्यमा हुनेछ । पहिलो खेल खेलिरहेको चन्द्रागिरीविरुद्ध पराजित भए कागेश्वरी प्रतियोगिताबाट बाहिरिनेछ । कागेश्वरीले पहिलो खेलमा दक्षिणकाली नगरपालिकाविरुद्ध ५-० को फराकिलो हार बेहोरेको थियो ।
यसैगरी दिनको अन्तिम खेल आयोजक गोदावरी नगरपालिका र ललितपुर महानगरपालिकाबीच हुनेछ । समूह ‘ए’का यी दुबै टोली दोस्रो जितको खोजीमा हुनेछन् । गोदावरीले आफ्नो पहिलो खेलमा महालक्ष्मी नगरपालिकालाई ६–१ ले हराउँदा ललितपुरले बागमती गाउँपालिकाविरुद्ध ७–३ को सानदार जित हासिल गरेको थियो । यो खेलको विजेताले सेमिफाइनल समीकरणमा आफ्नो सम्भावनालाई बलियो बनाउनेछ । खेल दिउँसो ३ः३० बजे हुने तालिका छ ।
लगातारको वर्षाले खेल मैदानमा हिलाम्मे हुँदा आयोजक गोदावरी नगरपालिकाले निर्धारित तालिकाअनुसार खेल सञ्चालन गर्न सकिरहेको छैन । समूह चरणका आगामी खेलहरु पनि निर्धारित तालिकाअनुसार हुनेछैनन् ।