विद्यालयस्तरीय बास्केटबल प्रतियोगिता

विराटनगरमा शुक्रबारदेखि बास्केटबल प्रतियोगिता हुने

सांकेतिक तस्बिर

विराटनगर । विराटनगरमा प्रतियोगिता शुक्रबारदेखि चौथो विद्यालयस्तरीय बास्केटबल प्रतियोगिता हुने भएको छ ।  

प्रतियोगिता विराटनगर बास्केटबल एकेडेमीले आयोजना गरेको हो । खेलको विकास र विद्यार्थीहरुलाई खेलकुदप्रति आकर्षित गर्दै उनीहरुको व्यक्तित्व विकास गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिताका संयोजक त्रिलोक बाँस्तोलाले जानकारी दिए ।

विद्यालयस्तरबाट खेलप्रति आकर्षित गराउन सके राम्रो खेलाडी उत्पादन गर्न सकिने बताउँदै, संयोजक बाँस्तोलाले भने, ‘खेलकुदले एउटा खेलाडी उत्पादन मात्रै गर्ने नभई एउटा सभ्य समाज निर्माणमा ठूलो टेवा पुग्छ । खानैदेखि खेलकुदप्रति आकर्षित गर्न सके युवापुस्ता लागुऔषध दुर्व्यसनी हुनबाट जोगाउन सकिन्छ ।’  

भदौ २९ गतेसम्म हुने प्रतियोगितामा विराटनगरका आठ निजी तथा सामुदायिक विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगितामा सगरमाथा, बिकेभिएम, डिपिएस, डनबोस्को, एभरेस्ट, अरनिको, पोखरिया, सेन्टजोसेफ स्कुलको सहभागिता छ ।

होम एण्ड अवेका आधारमा हुने प्रतियोगितामा दुई समूहमा विभाजन गरी लिग खेल हुनेछन् । प्रतियोगिताको विजेता तथा उपविजेताले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।  व्यक्तिगततर्फ ‘म्यान अफ द म्याच’ र सर्वोत्कृष्ट खेलाडीले पुरस्कार प्राप्त गर्ने छन् । गत वर्ष बिकेभिएम स्कुलले उपाधि जितेको थियो । 

शुक्रबार  एभरेस्ट  स्कुलको कोर्टमा हुने उद्घाटन खेलमा एभरेस्ट  र डिपिएस स्कुल भिड्ने छन् ।