बिएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता

भ्याली पब्लिक र ग्रिनल्यान्ड विजयी

काठमाडौं । भ्याली पब्लिक र ग्रिनल्यान्डले प्रथम बिएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार सफलता पाएका छन् ।

भ्याली पब्लिकले आयोजक बुढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बिएमसीए) ‘बी’ लाई ४२-३३ ले पराजित गरेको हो। भ्याली पब्लिकका अनमोल गुरुङले १५ अंक योगदान गरे । प्रवीण गुरुङको १३ अंक सहयोगमा ग्रिनल्यान्डले टिआइएलाई ४४-३२ ले हरायो ।

सिनियर ब्वाइजमै दोहोरो जित निकाल्ने क्रममा भ्याली पब्लिकले सेन्ट जेभियर्समाथि ४९-३० को जित दर्ता गर्यो । विजयी टोलीका लागि सुजन चौधरीले १५ अंक जोडे । हिमालयन किङ्डमविरुद्धको खेलमा गोल्डेनपिक ५९-३७ ले विजयी भयो ।

सिनियर गर्ल्समा पनि भ्याली पब्लिकले दोहोरो जित हासिल गर्यो । भ्याली पब्लिकले बिएमसीएलाई ३५-२८ तथा जुगललाई ३९–२५ ले हराएको हो । भ्याली पब्लिकका लागि  लोरिशा गौचनले तथा एन्जल गुप्ताले समान स्कोर  गरे ।

जुनियर ब्वाइजमा ग्रिनल्यान्डले भ्याली पब्लिकलाई १८-१३, गोल्डेनपिकले बिएमसीएलाई २५-२० र स्किब्सले एन्जल्स हार्टलाई १८-१७ ले हराए । ग्रिनल्यान्डका विश्वास केसीले ६ तथा गोल्डेनपिकका पासाङ शेर्पाले १५ अंक जोडे ।