मदन भण्डारी कप खुला बास्केटबल

टाइम्स, जेभियर, गोल्डेनगेट र नखिपोटको विजयी सुरुआत

काठमाडाैं । मदन भण्डारी कप खुला महिला तथा पुरुष बास्केटबल प्रतियोगिताको पुरुषतर्फ टाइम्स इन्टरनेसनल कलेज, जेभियन इन्टरनेसनल कलेज, गोल्डेनगेट कलेज र नखिपोट युथ क्लबले विजयी सुरुआत गरेका छन् ।

किर्तिपुरस्थित कभर्ड हलमा सोमबार भएको उद्घाटन खेलमा टाइम्सले ड्रिम टिमलाई ६७-४५ ले हरायो । विजेता टोलीका लागि सुरज खड्गीले २० प्वाइन्टको योगदान गरे ।

विक्रम खड्काको २० प्वाइन्टको मद्दतमा जेभियरले दिनको दोस्रो खेलमा बज्र कलेजमाथि ६८-६३ को जित निकाल्यो ।

दिनको तेस्रो खेलमा गोल्डेनगेटले रोयल्समाथि ७२-६९ को रोमाञ्चक जित निकाल्यो । गोल्डेनगेटका लागि अभिषेक सिंहले २४ प्वाइन्टको योगदान गरे ।

खेम वाइबाको १४ प्वाइन्टको मद्दतमा दिनको चौथो तथा अन्तिम खेलमा नखिपोटले बुढानिलकण्ठ बास्केटबल क्लबमाथि ७०-५२ को सहज जित निकाल्यो ।

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगितामा पुरुषतर्फ १६ र महिलातर्फ ६ गरी कुल २२ टोलीको सहभागिता छ । प्रतियोगिताका सबै खेल कीर्तिपुरस्थित कभर्डहलमा आयोजना हुनेछ ।

प्रतियोतिगको दुवैतर्फका विजेताले एक लाख ५० हजार तथा उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।