बिएनए कप अन्तरविद्यालय बास्केटबल

बिएनए कपमा ४८ टोलीको सहभागिता रहने

काठमाडाैं । बसुन्धरा नेसनल एकेडेमी (बिएनए) को आयोजनामा बुधबारदेखि सुरु हुने छैटौं बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा ४८ टोलीको सहभागिता रहने भएको छ ।

सिनियर ब्वाइजमा २४ तथा जुनियर ब्वाइज र सिनियर गर्ल्स समान १२ टोलीको सहभागिता रहने बिएनएका प्रिन्सिपल टंककुमार चापागाईंले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

सिनियर ब्वाइजमा आठ समूह तथा जुनियर ब्वाइज र सिनियर गर्ल्समा चार समूहमा विभाजन गरी लिग कम नकआउट पद्धतीमा खेलाइने छ । सिनियर ब्वाइजतर्फ भने थ्री बाइ थ्री शैलीमा खेल हुनेछ ।

साताव्यापी प्रतियोगिता सञ्चालन गर्न करिब चार लाख रुपैयाँ खर्च हुने बिएनएका कोओर्डिनेटर सन्तोष फुयाँलले बताए । खेलहरु बसुन्धरास्थित आयोजकको आफ्नै कोर्टमा हुनेछ ।

गत संस्करण सिनियर ब्वाइजमा ग्रिनल्यान्ड, जुनियर ब्वाइजमा एन्जल्स हार्ट र सिनियर गर्ल्समा भ्याली पब्लिक  च्याम्पियन बनेका थिए ।