बास्केटबल

ग्रान्डीका दुवै टोली च्याम्पियन

काठमाडौं । ग्रान्डीले तेश्रो थ्री बाइ थ्री यु-१९ खुला बास्केटबल प्रतियोगितामा दोहोरो उपाधि जितेको छ । ग्रान्डी ब्वाइज तथा गर्ल्स दुवैमा च्याम्पियन बनेको हो ।  

प्रोफेसनल एजुकेसन कन्सल्टेन्सी (पिइसी) ले आयोजना गरेको प्रतियोगिताको ब्वाइज फाइनलमा ग्रान्डीले शुक्रबार मेरिलियोन जिम्न्याजिमलाई १८-१२ ले पराजित गरेको हो ।

चण्डोलस्थित विशाल मिलन केन्द्र (बिएमके) को कोर्टमा भएको गर्ल्सको उपाधि भिडन्तमा ग्रान्डीले बलर्सलाई १५–११ ले हरायो । ब्वाइजमा उर्गेन लामा तथा गर्ल्समा  युनिका लामा सर्वोत्कृष्ट खेलाडी घोषित भए । दुवै ग्रान्डीका खेलाडी हुन् ।

विजेतालाई आयोजकका निर्देशक राजु सिंह, प्रायोजक युनिश अमात्यलगायतले नगद, ट्रफी, पदक र प्रमाण पत्र प्रदान गरे । एकदिने प्रतियोगिताको ब्वाइजमा १४ तथा गर्ल्समा पाँच टोलीको सहभागिता थियो ।