चैत्र १९, २०८१ मंगलबार | ०६:११:२७
जब फ्रेन्चाइज खेलले ‘लोकल टूर्नामेन्ट’को महसुस गरायो कोलकाताले दियो मुम्बईलाई ११७ रनको लक्ष्य चिवतनले पोखरालाई हरायो कोलकाताविरुद्ध फिल्डिङ गर्दै मुम्बई पोखराविरुद्ध पहिलो हाफमा चितवनलाई अग्रता लाइपजिगका प्रशिक्षक मार्को रोज बर्खास्त बोर्खा गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने राजस्थान रोयल्सका कप्तान रियान परागलाई १२ लाख जरिवाना ज्याकुब मेन्शिकले जिते मियामी ओपनको उपाधि कोलकातालाई मुम्बईको चुनौती जब फ्रेन्चाइज खेलले ‘लोकल टूर्नामेन्ट’को महसुस गरायो कोलकाताले दियो मुम्बईलाई ११७ रनको लक्ष्य चिवतनले पोखरालाई हरायो कोलकाताविरुद्ध फिल्डिङ गर्दै मुम्बई पोखराविरुद्ध पहिलो हाफमा चितवनलाई अग्रता लाइपजिगका प्रशिक्षक मार्को रोज बर्खास्त बोर्खा गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने राजस्थान रोयल्सका कप्तान रियान परागलाई १२ लाख जरिवाना ज्याकुब मेन्शिकले जिते मियामी ओपनको उपाधि कोलकातालाई मुम्बईको चुनौती

कर्णालीले सच्याउला नवौंका कमजोरी ?

नेपाली खेलकुदको सबभन्दा ठूलो मेला वृहत राष्ट्रिय खेलकुदको नवौं संस्करण विर्सनलायक बनेर विदा भएको छ ।

नेपालीका दुई ठूला चाढ दशै र तिहारको बीचमा सुन्दर पर्यटकीय नगरी पोखरालाई केन्द्र बनाएर गण्डकी प्रदेशमा भएको खेलकुदको त्यस्तै महा चाढले खेल जगतलाई कुनै पनि तवरबाट उर्जा र उत्साहको संचार गराउन सकेन ।

आम निर्वाचनको पूर्वसन्ध्यामा जसरी पनि गर्नैपर्ने सोचबाट प्रेरित खेल नेतृत्वले हतार–हतार झारो टराई पारामा गरेका कारण खेलकुदको महोत्सव कुनै कोणबाट पनि महोत्सवजस्तो देखिएन । नेतृत्वलाई जसरी पनि नवौं राष्ट्रिय खेलकुद सक्नु थियो । खेल्ने ठाउँ खेल्न लायक भएनभएकोमा नेतृत्वको कुनै चासो थिएन । खेलकुदका अन्तर्राष्ट्रिय रुपमै स्थापित मुल्य मान्यताको कुनै मतलब थिएन । खेल सकिइसक्दा समेत पदक समारोहमा पदक पुग्दैनथे ।

खेलाडीलाई उपलब्ध गराइएको खेल पोशाक उनीहरुलाई ठिक हुने थिएनन् । आधा खेलाडीले पनि नवौं राष्ट्रिय खेलकुदको चिनोको रुपमा त्यो पोशाक लगाउन पाएनन् । कतिपय खेलाडीको भत्तामा पदाधिकारीको गिद्धे नजर लाग्यो ।

खेलमा हुने विवादलाई ‘पार्ट अफ गेम’ भनेर सामान्यीकरण गर्न सकिएला । तर औपचारिक उद्घाटनको दिन आइसक्दा पनि सबै १० टोलीको दर्ता विवरण सार्वजनिक गर्न सक्ने राष्ट्रिय खेलकुद परिषदले गैह्र आवासीय नेपाली संघ (एनआरएनए)को दर्ता विवरण लुकाउनुको पछाडि विवादको जायज कारण देखिन्थ्यो । त्यही विवाद फुटबलको मैदानमा छताछुल्ल हुँदा ‘नेपाली खेलकुदलाई सहयोग गर्न आएको’ एनआरएनले बेइज्जती खप्नुपर्यो ।

जहाँ यो खेल महोत्सव गरिन्छ त्यहाँ यसकै बहानामा दीर्घकालसम्म काम लाग्ने केही खेलकुद पूर्वाधार बनाउने राष्ट्रिय खेलकुदले स्थापनाकालदेखि बोक्दै आएको प्रमूख उद्देश्य हो । यसपाली पोखरा र गण्डकी प्रदेशका लागि नवौं राष्ट्रिय खेलकुदले पूर्वाधारको नाममा केही पनि दिएन ।

प्रदेश र केन्द्रबीचको असमझदारीबाट उत्पन्न असहज परिस्थितीले राष्ट्रिय खेलकुदलाई सामान्य टोले प्रतियोगितामा रुपान्तरित गर्यो । स्थानीयलाई अपनत्व दिन कञ्जुस्याई गर्दा उपराष्ट्रपति उपस्थित उद्घाटन समारोहमा पोखरा रंगशालाका प्यारापिट खाली भए । रंगशालाको सय मिटर दुरीमा पनि राष्ट्रिय खेलकुदको कुनै चहलपहल भएन । सरकारले ६० करोड रुपैयाँ खर्च गरेको सम्पूर्ण नेपाली खेलकुदको सबभन्दा ठूलो महोत्सव रंगशाला परिसरभित्रै खुम्चियो ।

समग्रमा भन्नुपर्दा गएको असोज २८ बाट कात्तिक तीन गतेसम्म भएको नवौं राष्ट्रिय खेलकुद चरम अनियमितता, अत्यन्तै अव्यवस्थित र कर्मकाण्डी पारामा सम्पन्न भयो । नेपाली खेलकुद र खेलाडीको भावनामा खेलवाड भएको यो पहिलो पटक पक्कै पनि होइन । यसअघिका संस्करणमा पनि खेल क्षेत्रबाट यस्तै गुनासाहरु आएकै हुन् ।

यति ठूलो कार्यक्रममा सानातिना कमजोरी त भइहाल्छ नी । खेल नै रोकिनु भएन । उद्घाटन भएपछि समापन नभइकन स्थगित हुनुभएन । उद्घाटन र समापन भएपछि समग्रमा खेल सफल भएको ठान्नुपर्छ ।

तर, पोखरामा अघिल्ला संस्करणहरुको तुलनामा साच्चिकै भव्य तरिकाले राष्ट्रिय खेलकुद गर्न सकिन्थ्यो । विगतका सबै कमजोरीहरुलाई एकै पटक सच्याएर सर्वोत्कृष्ट तवरबाट गर्न सकिन्थ्यो । तर परिषदको नेतृत्वले त्यतातिर ध्यान दिएन । प्रत्येक कमजोरीमा नेतृत्वको एउटै उत्तर रहने गर्थ्यो, ‘यति ठूलो कार्यक्रममा सानातिना कमजोरी त भइहाल्छ नी । खेल नै रोकिनु भएन । उद्घाटन भएपछि समापन नभइकन स्थगित हुनुभएन । उद्घाटन र समापन भएपछि समग्रमा खेल सफल भएको ठान्नुपर्छ ।’

परिषद नेतृत्वको यो भनाईले खेलकुदलाई हेर्ने उनीहरुको दृष्टिकोण देखाउँछ । यही कारण हो, पोखरामा अहिलेसम्मकै उत्कृष्ट बनाउने सम्भावना भएर पनि नवौं राष्ट्रिय खेलकुद अहिलेसम्मकै कमजोर पारामा सम्पन्न भयो ।

पोखरामा भौतिक पूर्वाधारको कमी थिएन । खाली पौडी पोखरी र सुटिङ रेन्ज बनाएको भए पुग्थ्यो । त्यो बनाइएन । खेलकुदलाई असाध्यै माया र सहयोग गर्ने पोखरेलीलाई इशारामात्र गरेको भए उनीहरु आफैले नवौं राष्ट्रिय खेलकुद भव्य पारिदिन्थे । तर, खेल नेतृत्वले वृहत राष्ट्रिय खेलकुद महोत्सवलाई कुनै एउटा प्राइभेट लिमिटेडको गोप्य प्रोजेक्टका रुपमा सञ्चालन गर्ने चाहना राख्यो ।

यसको असफलता त्यसैको कारण हो । आम खेलकर्मीले असफलको ट्याग भिराए पनि खेल नेतृत्व यो मान्न तयार छैन । सरकार यो मान्न तयार छैन । स्वभाविक हो, उनीहरुका लागि यो राष्ट्रिय खेलकुद सफल भएकै हो । उनीहरुले चाहेकै तवरमा यो सम्पन्न भइसकेको छ । खेलाडी र खेलकर्मीसँग उनीहरुको सोच्ने तरिका मिल्नुपर्छ भन्ने छैन । मिल्दैन ।

खेलकुद मन्त्री, राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव र उपाध्यक्षमात्र होइन प्रधानमन्त्री र उपराष्ट्रपतिले पनि समग्र खेलाडी र खेलकर्मीको नजरमा अस्तव्यस्त रहेको नवौं वृहत राष्ट्रिय खेलकुद भव्य रुपमा सम्पन्न भएको आधारहिन दाबी गरे । तथ्यहिन झुठा भाषण गर्ने बानी लागेकाहरुले नवौं वृहत राष्ट्रिय खेलकुदकै कारण पोखरामा थुप्रै भौतिक पूर्वाधार बनेको पनि बताए ।

खैर, नेताको भाषणलाई सामान्य जनताले पनि वास्था गर्न छोडिसकेका बेला खेलाडी र खेलकर्मीले गम्भीरताका साथ लिने कुरा थिएन । लिएनन् ।

राखेप अहिल्यै १०औं संस्करणको आयोजक पनि घोषणा गरिसकेको छ । कर्णालीले पहिलो पटक दुई वर्षपछि राष्ट्रिय खेलकुदका लागि १० हजार हाराहारीमा खेलाडी र खेलकर्मीलाई आतिथ्य दिनेछ । प्रधानमन्त्री र मन्त्रीदेखि खेलकुदका सबै ठेकेदारले आ-आफ्ना भाषणमा नवौंमा भएका कमजोरी १०औंमा सच्याउने अर्को झुठो आश्वासन दिएका छन् ।

प्रत्येक संस्करणको समापनमा यसो भन्ने अनि अर्को संस्करणलाई झनै अव्यवस्थित र भद्रगोल पारामा गर्ने गरेको देखेका खेलकर्मीले नेताका भाषणमा विश्वास गर्न छोडेको धेरै भइसक्यो । अत्यन्तै भव्य रुपमा हुन सक्ने ठाउँबाट समेत निराश भएर फर्किएका खेलकर्मीले कसरी पत्याउनु ?

सबथोक भएको पोखरामा मैदान सम्याउन दशै र बेमौसमी वर्षाका कारण भ्याइएन भनेर कुतर्क गर्नेले दुई वर्षभित्रमा कर्णालीमा रंगशाला बनाउला भनेर पत्याउन सकिन्न ।

खेलस्थल, यातायात र बसोबासका लागि काठमाडौंपछि देशकै सबभन्दा बढि सुविधा भएको ठाउँमा नगर्नेले एउटै रंगशालासमेत नभएको कर्णालीमा योभन्दा व्यवस्थित राष्ट्रिय खेलकुद सम्भव छैन । सबथोक भएको पोखरामा मैदान सम्याउन दशै र बेमौसमी वर्षाका कारण भ्याइएन भनेर कुतर्क गर्नेले दुई वर्षभित्रमा कर्णालीमा रंगशाला बनाउला भनेर पत्याउन सकिन्न ।

एउटा रंगशालाले मात्र पनि राष्ट्रिय खेलकुद सम्पन्न हुँदैन । प्रत्येक संस्करणमा राजनीतिक प्रभाव र पहुँचका भरमा खेल संख्या थप्ने प्रचलन छ । यही अनुसार यसपाली ३६ खेल भएकोमा अर्को पाली झनै संख्या थपिएला । प्रत्येक खेल गराउन त्यही खेलका लागि विशेष खालको पूर्वाधार चाहिन्छ । जुन कर्णालीमा छैन । १०औं हजार पाहुनालाई थेग्ने होटल चाहिन्छ, त्यसको व्यवस्था कम जटिल छैन । यातायात पूर्वाधारको विषय त अर्को टाउको दुखाई हो ।

पूर्वाधार छैन भनेर कर्णालीमा खेल नलग्ने भन्न खोजिएको होइन । तर त्यसका लागि लामो समयदेखि तयारी हुनुपर्छ । स्थानीय, प्रदेश र संघीय सरकारले भाषणमात्र होइन, त्यस्तै प्रतिबद्धताका साथ काम गर्नुपर्छ । कतारले विश्वकपको आयोजनाका लागि पछिल्लो १२ वर्षदेखि गरेको तयारीजस्तै हुनुपर्छ । कर्णालीलाई तत्काल आयोजना अधिकार दिनुभन्दा तीन संस्करणपछिको राष्ट्रिय खेलकुद आयोजनाका लागि आजैबाट युद्धस्तरमा पूर्वाधार निर्माणको अभियान थालिनुपर्थ्यो ।

राजधानीभित्र आठ किलोमिटर बाटोको स्तरोन्नति गर्न १० वर्षमा पनि नसक्ने सरकारले विकट कर्णालीमा दुई वर्षभित्र राष्ट्रिय खेलकुदलाई आवश्यक पूर्वाधार बनाउँछु र अहिलेसम्मका कमजोरी सच्चिने गरि आयोजना गर्छु भन्दा कसरी पत्याउनु ?

कतारजस्तो धनी मुलुकले विश्वकपका लागि आठवटा रंगशाला बनाउन १२ वर्ष खर्चेको छ । तर राजधानीभित्र आठ किलोमिटर बाटोको स्तरोन्नति गर्न १० वर्षमा पनि नसक्ने सरकारले विकट कर्णालीमा दुई वर्षभित्र राष्ट्रिय खेलकुदलाई आवश्यक पूर्वाधार बनाउँछु र अहिलेसम्मका कमजोरी सच्चिने गरि आयोजना गर्छु भन्दा कसरी पत्याउनु ?

ओलम्पिक, एसियाली खेलकुद र विश्वकप जस्ता ठूला खेल महोत्सव आयोजनाका लागि देश वा सहर विशेषले दाबी गर्छन । सफलतापूर्वक आयोजना गर्न सक्ने आधार प्रस्तुत गर्छन । अनि दाबेदारहरुका प्रस्ताब र हैसियतमाथि विश्लेषण गरेर उत्कृष्टलाई आयोजनाको अवसर दिइन्छ । यही कारण हो एसियाले भर्खर दोस्रो पटक विश्वकप आयोजना गर्न लागेको । अफ्रिका र ओसियाना महादेशले त अहिलेसम्म आयोजनाको अवसर पाएका समेत छैनन् ।

हाम्रो राष्ट्रिय खेलकुदको उद्देश्य फरक छ । हामीकहाँ राष्ट्रिय खेलकुदलाई विभिन्न क्षेत्रमा पालैपालो आयोजना गरेर यसका लागि भौतिक पूर्वाधार बनाउने र पूरा देशलाई एउटा समयमा पूर्वाधार सम्पन्न बनाउने उद्देश्य राखिएको थियो । तर, त्यो उद्देश्यबाट राखेप, सरकार र राष्ट्रिय खेलकुद च्यूत भइसकेको छ ।

पूर्वाधारका नाममा केही थान कभर्डहल नाम गरेका पाटीबाहेक केही नभएको कर्णालीले राष्ट्रिय खेलकुदको झण्डा बोकिसकेको छ । त्यसैले यो अब कर्णालीकोमात्र नभएर सबै प्रदेश, विभागीय टोली र एनआरएनको समेत चासोको विषय हो । यसलाई सफल पार्नुको विकल्प छैन ।

सफल पार्ने चाँही कसरी त ? कुरा चाँही तिनै जाली नेताहरुले भाषणमा भनेजस्तै हो, ‘नवौंसम्मका कमजोरी सच्याएर’ । आयोजनाका पक्षमा दुई वर्षपछि सच्याउने छुट छ । तर, दुई वर्षमै गर्ने अनुसाशनको पालनाका लागि पनि अहिल्यैदेखि गर्नुपर्ने काम भनेको पूर्वाधार निर्माणको कामलाई तिब्रता दिने हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा स्वयमले गरेको भाषण हो, ‘विगतका कमजोरी सच्याउने’ । त्यसैले संघीय सरकारले नै विशेष चासो र प्रतिबद्धताका साथ काम गरेर स्थानीय र प्रदेश सरकारलाई झकझक्याउने काम गर्नुपर्छ । कर्णालीमा खेल्ने ठाउमात्र बनाएर पुग्दैन । पछि अरु कामका लागि प्रयोग गर्न सकिने गरि खेलाडी भिलेज पनि बनाउनुपर्छ । अन्यथा बसोबासको अकल्पनीय समस्या आइलाग्नेछ ।

त्यसैले दशै-तिहार, हिउँद-वर्षा, दिन-रात केही नभनी आजैदेखि तीन सिफ्ट काम गरेमा चाँही कर्णालीमा दुई वर्षपछि नै कामचलाउ राष्ट्रिय खेलकुद आयोजना हुन सक्छ । नत्र, फेरि पनि पूर्वाधारको बहानामा वर्षौसम्म नेपाली खेलकुद बन्धक बनिरहनेछ । अनि राजनीतिक सहानुभूतिका लागि कर्णालीलाई आयोजना अधिकार दिनेलाई खेलकर्मीले धारेहात लगाइरहनेछन् । 


भिडियो
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।
FC CHITWAN सँग कागजको छवीलाई मैदान उतार्ने चुनौती II NEPAL SUPER LEAGUE NSL
राम्रो प्रदर्शन गरेर राष्ट्रिय टोलीमा पुग्ने चाहना छ II Pasang Lama , Dhangadhi FC