काठमाडौं। खो-खोको महिला तथा पुरुष टोली र एमएफएन फाइटर रवीन्द्र ढाँट काठमाडौं महानगरपालिकाबाट मंगलबार नगदसहित सम्मानित भएका छन् ।
महानगरले भारतमा सम्पन्न प्रथम खो-खो विश्वकपमा उपविजेता बनेका महिला तथा पुरुष टोलीलाई समान ११ लाख रुपैयाँसहित सम्मान गर्याे ।
नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा भएको फाइनलमा नेपालका दुवै टोली आयोजक भारतसँग पराजित भएका थिए । पुरुष टोली ७८-४० तथा महिता टोली ५४-३६ ले निरास बनेका थिए ।
कुनै पनि खेलमा नेपाली टोलीले विश्वकपको फाइनल खेलेको यो पहिलो पटक हो ।

रविन्द्र ढाँट (दायाँ) लाई सम्मान गर्दै महानगर प्रमुख बालेन्द्र साह ।
यसैगरी म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन) च्याम्पियन रविन्द्र २ लाख रुपैयाँसहित सम्मानित भए ।
रविन्द्रले भारतको नोयडामा भएको म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन) मा घरेलु खेलाडी चुनरेङ कोरेनलाई पराजित गर्दै बान्टमवेट च्याम्पियनसिपको उपाधि जितेका थिए । बझाङका रविन्द्र यो उपाधि जित्ने पहिलो नेपाली फाइटर हुन् ।
सम्मान कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र सामाजिक विकास समितिका संयोजकलगायतको उपस्थिति थियो । यो सम्मान सामाजिक विकास समितिको सिफारिसमा गरिएको हो ।