काठमाडौं । नेपाल बुद्धिचाल महासंघको आयोजनामा भइरहेको २५औं पुरुष तथा १०औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको तेस्रो चरण सम्पन्न हुँदा पुरुषतर्फ एफएम रुपेश जैसवालले एकल अग्रता कायम गरेका छन् ।
पूर्व नेपाल च्याम्पियन रुपेश जैसवालले तीनै खेल जित्दै ३ अंक जोडेका छन् । रौतहटका २०९३ रेटेड रुपेशले ललितपुरका १९५२ रेटेड सुरोज महर्जन, झापाका २०२१ रेटेड शुश्रुत दहाल, काठमाडौंका १८८२ रेटेड प्रेमकृष्ण महर्जनलाई क्रमशः पराजित गरे ।
यसैगरी दोलखाका आशिष फुयालले पनि अपराजित रहँदै २.५ अंक जोडेका छन् । दोश्रो स्थानका १९८१ रेटेड खेलाडी आशिषले काठमाडौंका २०१६ रेटेड एफएम रिजेन्द्र राजभण्डारी र भक्तपुरका १६८७ रेटेड विनय थापालाई हराए भने २०४५ रेटेड पुरुषोत्तम सिलवालसंग बराबरी खेलेका छन् ।
काभ्रेका २०७० रेटेड एफएम क्षितिज भण्डारी, धैर्यवान खेलाडी प्रेमकृष्ण महर्जनले समान २ अंक प्राप्त गर्दै संयुक्त तेस्रो स्थान ओगटेका छन् ।
यसैगरी झापाका शुश्रुत दहाल, वर्तमान नेपाल च्याम्पियन १९८२ रेटेड राजन सुवेदी र काठमाडौंका सिएम नवीन तण्डुकारले समान १.५ अंक हासिल गरेका छन्। क्मशः सुनसरीका १८७८ रेटेड धिरेन राई, युवा पुरुषोत्तम सिलवाल, सुरोज महर्जन, रिजेन्द्र राजभण्डारीले १ अंक जोडेका छन्। विनय थापा भने अंकविहिन छन् ।
महिलातर्फ काठमाडौंकी सिन्दारा जोशी र ललितपुरकी एञ्जल महर्जनले सबै खेल जितेर संयुक्त अग्रता लिएका छन् ।
वर्तमान महिला राष्ट्रिय च्याम्पियन सिन्दिराले काठमाडौंकी निहाना श्रेष्ठ, रुकुमकी नयुमा मगर र चितवनकी लक्ष्मी कँडेलमाथि जित दर्ता गरेकी छन्। एञ्जलले ओलम्पियाड खेलाडी शान्ति धिमाल, निहाना श्रेष्ठ र नयुमा मगरलाई हराइन् ।
यस्तै झापाकी पुनम प्रसाईं, ताप्लेजुङकी सुशिला गुरुङ, मोरङकी शान्ति धिमाल, बाँकेकी इशा गिरी, झापाकी कृतिसारा अधिकारी र काठमाडौंकी विनिता कपाली समान २ अंक जोडेर संयुक्त दोश्रो स्थानमा छन् ।