माघ १७, २०८१ बिहीबार | ००:१४:५६
उपाधिमा दुवै टोलीको दाबी सहज जित निकाल्दै काठमाडौं फाइनलमा अर्सनालाई स्वर्ण आर्मी र भारतीय टोलीबीचको खेल स्थगित सविता राष्ट्रिय महिला लिगको सर्वोकृष्ट खेलाडी बालुवाटार र थर्ड आइ विजय गोलका साथ अनुले लिइन् फुटबलबाट संन्यास एपिएफ अपराजित रहँदै च्याम्पियन एपिएफ बाहिरियो खेलाडी विदेशिनुको मुख्य कारण लिग समयमा नहुनु होः विकेश कुथु उपाधिमा दुवै टोलीको दाबी सहज जित निकाल्दै काठमाडौं फाइनलमा अर्सनालाई स्वर्ण आर्मी र भारतीय टोलीबीचको खेल स्थगित सविता राष्ट्रिय महिला लिगको सर्वोकृष्ट खेलाडी बालुवाटार र थर्ड आइ विजय गोलका साथ अनुले लिइन् फुटबलबाट संन्यास एपिएफ अपराजित रहँदै च्याम्पियन एपिएफ बाहिरियो खेलाडी विदेशिनुको मुख्य कारण लिग समयमा नहुनु होः विकेश कुथु
शनिबारको दिन नेपाली फुटबल

राष्ट्रिय जर्सीमा देखिने फुटबलर प्रतीक्षाको प्रतीक्षा

काठमाडौं । ‘छोरीका लागि नेपाली समाज अझै उदार भइसकेको छैन । महिलालाई घरभित्रै सीमित राख्नुपर्ने मानसिकताका कारण छोरीको संघर्ष जन्मँदाबाटै सुरु हुन्छ ।’

महिला अधिकारकर्मीले चर्को स्वरमा यस्ता नारा घन्काउनुको कारण समाजको यही मानसिकता हो । ग्रामीण क्षेत्रमा घरबाहिर निस्कन समेत ठूलै क्रान्ति गर्नुपर्ने अवस्थाबाट छोरीले खेलाडी बन्ने सपना देख्न सहज छैन । अझ हाफ पाइन्ट लगाएर फुटबल खेल्ने त कतिपय ठाउँमा अझैसम्म पनि कल्पनाबाहिरको कुरा हो ।

सशस्त्र प्रहरी बलको एपिएफ क्लबकी राइटब्याक प्रतीक्षा चौधरीले फुटबल खेल्न सुरु गर्दा ठ्याक्कै त्यस्तै अवस्थाबाट गुज्रिनुपरेको थियो । फुटबलका कारण झन्डै झन्डै सामाजिक बहिष्कार समेत भोग्नुपरेको थियो ।

प्रतीक्षाको परिवार उनलाई फुटबल खेल्न खेल सामग्री किनिदिने अवस्थामा थिएन । परिवारको परिस्थिति त प्रतीक्षाले खेल्नुको साटो घरमा काम सघाए हातमुख जोर्न सजिलो हुने थियो । 

जारी महिला राष्ट्रिय लिगमा प्रभावशाली प्रदर्शनमार्फत आमफुटबल जगतको ध्यान तान्न सफल प्रतीक्षा तिनै छोरी हुन्, जो कुनै बेला फुटबल खेलेकै कारण समाजमा हेयको पात्र बन्नुपरेको थियो ।

एपिएफको जर्सीमा प्रतीक्षा चौधरी, तस्विर सरोज सापकोटा/ खेलाडी । 

विभागीय टोली एपिएफ क्लब नेपाली महिला फुटबलमा आफ्नो प्रभावलाई निरन्तरता दिँदै लगातार च्याम्पियन बन्ने बाटोमा अघि बढिरहँदा रक्षापंक्तिमा प्रतीक्षाले गरेको जब्बर प्रदर्शनको भूमिका महत्त्वपूर्ण बनिरहेको छ । प्रतीक्षाको टोलीले महिला लिगको प्लेअफसम्म पुग्दा १७ खेलमा अपराजित यात्रा कायम राखेको छ ।

उनको कैलाली जिल्ला, गौरीगंगा गाउँको सामान्य परिवारमा जन्म भएको थियो । परिवार चरम आर्थिक अभावको चपेटामा थियो । समाजले छोरीलाई खेल्ने अनुमति दिँदैनथ्यो । घरपरिवारको लक्ष्मण रेखाभित्र सीमित गर्न चाहन्थ्यो । तर प्रतीक्षाको फुटबल खेलाडी बन्ने सपना यो सब बाधाहरूभन्दा बलियो थियो । उनी समाजले हालेका सबैखाले तगारो नाघ्न चाहन्थिन् ।

प्रतीक्षाको खेलाडी बन्ने र प्रशिक्षक ओलीको उनलाई स्टार बनाउने सपनाको गजब संगम भयो । त्यसपछि दोभानमा दुई खोला मिसिएर बनेको ठूलो नदीले झै प्रतीक्षाको फुटबल करियरले पनि गति लिन थाल्यो ।

सपना जसरी पनि पूरा गरिछाड्ने अठोट थियो । त्यही अठोटका कारण आज प्रतीक्षा राष्ट्रिय फुटबलमा प्रभाव जमाउने अवस्थासम्म पुगेकी छन् ।

आखिर त्यस्तो कठिन परिस्थितिबाट प्रतीक्षाका लागि आजको फुटबलको सुगम राजमार्ग कसरी सम्भव भयो त ? गीतामा भगवान् कृष्णले ‘तिमी आट, म पुर्याउँछु’ भनेजस्तै निरन्तरको संघर्ष र सपनाप्रतिको इमान्दार प्रतिबद्धताले कठिन अवस्थामा पनि प्रतीक्षाका लागि बाटोहरू खुल्दै गए । अनि उनको करियरमा सारथिझै बनेर प्रशिक्षक मिलन ओलीको आगमन भयो ।

टोलीसँगै गोलको खुसीयाली मनाउँदै प्रतीक्षा चौधरी (४ नम्बर जर्सी ), तस्विरः एन्फा । 

प्रतीक्षाको परिवार उनलाई फुटबल खेल्न खेल सामग्री किनिदिने अवस्थामा थिएन । परिवारको परिस्थिति त प्रतीक्षाले खेल्नुको साटो घरमा काम सघाए हातमुख जोर्न सजिलो हुने थियो । परिवारको चाहना पनि काम गरेर केही कमाइ गरे हुन्थ्यो भन्थ्यो ।

तर, उनको फुटबल मोह र उनीभित्रको क्षमताबाट प्रभावित प्रशिक्षक ओलीले सुरुमै आवश्यक खेल सामग्री आफैंले किनिदिएर गाउँको एउटा गरिब परिवारकी छोरीलाई देशकै स्टार बनाउने सपना देखे ।

२० वर्षकी प्रतीक्षाले जारी महिला राष्ट्रिय लिगमा स्टार खेलाडीले भरिपूर्ण एपिएफको टिमबाट पहिलो रोजाइमा खेलिरहेकी छन् । 

अब प्रतीक्षाको खेलाडी बन्ने र प्रशिक्षक ओलीको उनलाई स्टार बनाउने सपनाको गजब संगम भयो । त्यसपछि दोभानमा दुई खोला मिसिएर बनेको ठूलो नदीले झै प्रतीक्षाको फुटबल करियरले पनि गति लिन थाल्यो ।

परिवारको असहमतिका बावजुद प्रशिक्षक ओलीले प्रतीक्षालाई गौरीगंगा मैदानसम्म डोहोर्याए । ‘आज मैले जे उपलब्धि हासिल गरेको छु, मिलन गुरुकै कारण हो । सायद ती दिन गुरुले मलाई साथ नदिएको भए । म मैदानमा हुने थिइनँ । मेरो फुटबल सपना गाउँमा घासदाउरा गर्दैमा बिलाउँथ्यो होला,’ प्रतीक्षा आफ्ना गुरु ओलाीप्रति कृतज्ञ छन् । 

उमेर समूहको राष्ट्रिय जर्सीमा प्रतीक्षा चौधरी, तस्विरः एन्फा । 

२० वर्षकी प्रतीक्षाले जारी महिला राष्ट्रिय लिगमा स्टार खेलाडीले भरिपूर्ण एपिएफको टिमबाट पहिलो रोजाइमा खेलिरहेकी छन् । लिगको पहिलो चरणका ९ र दोस्रो चरणका सबै ८ खेलमा उनी एपिएफको जर्सीमा ठाटिएर मैदानभित्र विपक्षी फरवार्डका लागि पर्खाल बनेर प्रस्तुत भइन ।

महिला फुटबलमा एपिएफ नेपालकै नम्बर एक टिम हो । टोलीमा सिनियर राष्ट्रिय टिमका ९ खेलाडी छन् । बाँकी खेलाडीले पनि विभिन्न उमेर समूहमा राष्ट्रिय टोलीको जर्सी लगाइसकेका छन् ।

स्टार खेलाडीको भीडमा रहेर खेल्न पाउनुले प्रतीक्षालाई धेरै फाइदा पुग्यो । सिनियर खेलाडीसँग प्रत्येक क्षण सिक्ने मौका मिलिरह्यो । यही कारण हो, एपिएफको ४ नम्बर जर्सीमा मैदानभित्र प्रतीक्षाको भयरहित प्रभावशाली प्रदर्शन देखिएको ।

एपिएफको टिममा मज्जासँग जमिसकेपछि प्रतीक्षाको अबको ध्यान एपिएफलाई उपाधि जिताउने र लगत्तै हुने फोर नेसन्स लिगमा राष्ट्रिय टोलीमा स्थान बनाउने छ ।

‘सबै दिदीहरू राष्ट्रिय टिमका हुनुहुन्छ । त्यसले मलाई धेरै सहयोग मिलेको छ । डराएर खेल्नुपरेको छैन । आफूबाट कमजोरी भए पनि दिदीहरूले सम्हाल्नुहुन्छ भन्ने विश्वास सधैं हुन्छ,’ प्रतीक्षा भन्छिन् ।

एपिएफको टोलीसँग प्रतीक्षा चौधरी (४ नम्बर जर्सी), तस्विरः सरोज सापकोटा/ खेलाडी । 

प्रतीक्षाले एपिएफबाट खेलेको यो दोस्रो लिग हो । तीन वर्षअघि चितवनमा भएको पछिल्लो महिला लिगमा उनले पहिलो पटक एपिएफको जर्सी लगाएकी थिइन । तर पहिलो रोजाइमा रहेर राइट ब्याकमा सम्पूर्ण जिम्मा भने उनले यसपालि मात्र पाइन । जसमा उनले प्रशिक्षक जीवेश पाण्डेको विश्वासप्रति न्याय गरेकी छन् ।

‘प्रतीक्षाले निकै राम्रो गरिरहेको छ । युवा छ । उसलाई यो भनेको सिनियर खेलाडीबाट सिक्ने अवसर हो,’ प्रशिक्षक पाण्डे भन्छन्, ‘सिनियर खेलाडीबीच प्रतीक्षाले आफ्नो भविष्य खोजिरहेकी छिन् । उसको अहिलेको प्रदर्शन र प्रतिबद्धताबाट भविष्य राम्रो हुने संकेत देखिन्छ ।’

एपिएफको टिममा मज्जासँग जमिसकेपछि प्रतीक्षाको अबको ध्यान एपिएफलाई उपाधि जिताउने र लगत्तै हुने फोर नेसन्स लिगमा राष्ट्रिय टोलीमा स्थान बनाउने छ ।

कलाकार शुनिल थापासँग प्रतीक्षा चौधरी, तस्विरः प्रतिक्षाको फेसबुकबाट । 

पटक पटक राष्ट्रिय टिमको बन्द प्रशिक्षण सिविरमा परेर पनि अन्तिममा बाहिरिनुपरेको नमिठो अनुभव उनीसँग छ । त्यसैले लिगको उच्च लय कायम राखेर राष्ट्रिय टोलीको ढोका खोल्ने प्रतीक्षाको प्रतीक्षा छ ।

‘दोस्रो पटक एपिएफलाई च्याम्पियन बनाउनु छ । अहिले त्यसमै कन्द्रित छौं,’ प्रतीक्षा भन्छिन्, ‘त्यसपछि मात्रै राष्ट्रिय टिमको बारेमा सोचेको छु । पाँच पटकसम्म अन्तिम २४ सम्म परेर २३ मा नअटाएको अनुभव मसँग छ । यसपटक त्यो नहोस् भनेर मिहिनेत गरिरहेको छु । प्रतीक्षाको फल मीठो हुन्छ ।’

गौरीगंगादेखि एपिएफसम्मखुसीराम र राम दिनिया चौधरीका ६ सन्तानमध्ये काइली हुन् प्रतीक्षा । २०७६ सालमा धनगढीमा भएको कोकाकोला कपबाट प्रतीक्षाले फुटबल खेल्न सुरु गरेकी थिइन् ।

प्रशिक्षक ओलीले नै उनलाई मसुरिया फुटबल एकेडेमीबाट कोकाकोला कप खेलाएका थिए । त्यतिबेला उनी १५ वर्षकी थिइन् । कोकाकोला कपमा प्रदर्शन उत्साहजनक भएपछि प्रतीक्षाले त्यही प्रतियोगिताअन्तर्गत काठमाडौंमा भएको यु–१४ कपको फाइनल चरणमा खेल्ने अवसर पाइन् ।

बन्दा प्रशिक्षणमा रहँदा प्रतीक्षा चौधरी (अघिल्लो रोको दयाँबाट सातौं), तस्विरः प्रतिक्षाको फेसबुकबाट । 

फाइनल चरणमा पनि राम्रो प्रदर्शन गरेपछि उनले त्यही वर्ष नेपालको राष्ट्रिय यु-१५ टिममा स्थान बनाइन् । भुटानमा साफ च्याम्पियनसिप खेल्दा पनि अवसर पाइन् । यसपछि वालिङबाट राष्ट्रिय लिगमा राम्रो प्रदर्शन गरेपछि प्रतिक्षाले नेपालको यु-१८ र यु-१९, यु-२० राष्ट्रिय टिमबाट पनि खेलिन् । यु-१९ टिममा प्रदर्शन प्रभावशाली भएपछि एपिएफले प्रतीक्षालाई अनुबन्ध गरेको हो । चितवनको शारदानगरमा एपिएफ च्याम्पियन बन्दा उनले बेन्चमै अधिकांश समय बिताइन् । त्यसपछि भने टोलीमा नियमित रूपमै खेलिरहेकी छन् ।

गीतासँगै टिमको रक्षापंक्तिमा जिम्मेवारी लिँदा आफूलाई सहज भएको प्रतीक्षा सुनाउँछिन् । त्यसैले गीता जस्तै राष्ट्रिय टिममा जम्ने प्रतीक्षाको सपना छ ।

गीतासँगै राष्ट्रिय टिमबाट खेल्ने सपना 

१५ वर्षको उमेरमा करियर सुरु गर्ने क्रममा कोकाकोला कपको फाइनल चरण खेल्न काठमाडौं आएपछि प्रतीक्षाले राष्ट्रिय टोलीकी स्टार तथा एपिएफकी वर्तमान सहकर्मी गीता रानाको खेल देखिन् ।

गीताको प्रदर्शनबाट प्रभावित प्रतीक्षाले तत्कालै प्रण गरिन्, ‘एकदिन यो दिदीजस्तै बन्छु । दिदीसँगै खेल्छु ।’

सहकर्मीसँग प्रतीक्षा चौधरी (बायाँ), तस्विरः प्रतिक्षाको फेसबुकबाट । 

‘जब मैले राम्रोसँग फुटबल बुझें । गीता दिदीको खेल मनपर्याे । अनि दिदी जस्तै खेलाडी बन्ने सपना बुनें,’ प्रतीक्षा सुनाउँछिन्, ‘दिदीसँग एपिएफबाट खेल्ने सपना पूरा गरेको छु । अब, राष्ट्रिय टिममा पनि सँगै खेल्न मन छ ।’

गीतासँगै टिमको रक्षापंक्तिमा जिम्मेवारी लिँदा आफूलाई सहज भएको प्रतीक्षा सुनाउँछिन् । त्यसैले गीता जस्तै राष्ट्रिय टिममा जम्ने प्रतीक्षाको सपना छ ।

‘दिदी निकै शान्त स्वभावको हुनुहुन्छ । आफ्नो जोनमा विपक्षीलाई हाबी हुन दिनुहुन्न । सँगै खेल्दा धेरै कुरा सिकाउनुहुन्छ । त्यसैले पनि मलाई खेल्दा कहिल्यै तनाव हुँदैन ।’