विद्यालय खेलकुद

एक्सेल्सियर कपमा न्यु इरा विजयी

काठमाडौं । न्यु इराले नवौं एक्सेल्सियर कपअन्तर्गत सिनियर गल्र्स बास्केटबलमा शनिबार जित हात पारेको छ ।

स्वयम्भूस्थित आयोजक द एक्सेल्सियर स्कुलको कोर्टमा न्यु इराले क्लिनटनलाई २०-१० ले पराजित  गरेको हो । न्यु इराकी नर्गिमा तामाङले १४ स्कोर गरिन् । 

अन्य खेलमा काष्ठमण्डपले रातो बंगलालाई १३-६, रिब्सले पाठशाला नेपाललाई ५-२ तथा एक्सेल्सियरले रेडिअन्ट पब्लिकलाई ६-५ ले हराए । काष्ठमण्डपकी आस्मा अर्यालले सात, रिब्सकी नन्सिता लिम्बूले चार र एक्सेल्सियरकी साम्तेन डोल्मा लामाले चार अंक जोडे ।

सिनियर ब्वाइज बास्केटबलमा नेपालयले रातो बंगलालाई २५-२२, ओएसिसले क्लिनटनलाई ३६-१८ र एलआरआईले एपेक्स लाइफलाई १८-१२ ले पाखा लगाए । नेपालयका विजेन थापा मगरले १३, ओएसिसका रेवन राईले २३ र एलआरआईका जयन गिरीले १२ अंक बटुले ।

यु-१६ ब्वाइज फुटबलमा ग्रिनफिल्डले एक्सेल्सियरलाई ५-१ र रिब्स ‘ए’ लाई २-०, श्री सञ्जय साइले रिब्स ‘बी’ लाई १-० तथा न्यु इराले एक्सेल्सियर नीलोलाई ४-० र रिब्स ‘ए’ लाई ३-० गोलले पराजित गरे ।

यु-१२ ब्वाइज फुटबलमा एक्सेल्सियरले श्री सञ्जय साइलाई ३-१ गोलले हरायो । एक्सेल्सियरका कृष पाण्डेले २ तथा साहिलराज थापाले १ गोल गरे । सञ्जय साइका इशान चौलागाईंले एक गोल फर्काए ।