च्याम्पियन्स मार्सल आर्टस् एकेडेमी

च्याम्पियन मार्सल आर्ट्स एकेडेमीको उद्घाटन

काठमाडौं । प्रवासमा रहेका नेपाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको पहलमा स्थापना भएको च्याम्पियन्स मार्सल आर्टस् एकेडेमीको शुक्रबार औपचारिक सुरुवात भएको छ । 

झण्डै तीन वर्षदेखि काठमाडौं महानगरपालिका १६ को खरिबोटमा साढे २ रोपनी जग्गामा स्थापना भएको एकेडेमीको ओलम्पियन जितबहादुर केसी, संगिना वैद्य, दीपक विष्ट, देवु थापा तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरे ।

एकेडेमीको उद्घाटनकै अवसरमा १३औं दक्षिण एसियाली खेलकुद (साग) मा करातेका दोहोरो स्वर्णपदक विजेता मण्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य, स्वर्ण विजेता संगीता बस्याल, १३औं सागकी रजत पदक विजेता अप्सरा कार्की, सन् २०१६ की रियो ओलम्पिककी सातौं वरियताकी निशा रावल, सागमा करातेका कास्य विजेता मुकुन्द महर्जन, दिगम्बर प्रसाद पन्त, जुडोका कास्य विजेता श्रीराम माकाजु, उसुकका रजत विजेता विश्व बुढामगर, मिना ग्लानलाई सम्मान गरेको हो । 

यस्तै, एकेडेमी आफ्नो इमर्जिङ खेलाडीलाई पनि सम्मान गरेको थियो । हाल अमेरिकामा बस्दै आएका ११औं सागका स्वर्ण पदक विजेता करातेका सुनिल लामा, फ्रान्समा बस्दै आएका सुनिल लामा, फ्रान्स बन्दै आएका दक्षिण एसियाली जुडो च्याम्पियनसिपका स्वर्ण पदक विजेता सरोज महर्जन, अमेरिका बस्दै आएका तेक्वान्दोका राष्ट्रिय खेलाडी पुष्प थापामगर, अस्ट्रेलिया बस्दै आएका ११औं सागका उसुका पदक विजेता राजु महर्जन र मकाउ बस्दै आएका एम्बेस्डर कपका स्वर्ण पदक विजेता सुजन जोशी तथा अमित लामा, सन्जय लामा, नरेन्द्र मर्हजनको पहलमा एकडेमीको स्थापना गरिएको बताइएको छ ।

एकेडेमीमा बिहान र साँझ गरेर झण्डै ९० जनाले प्रशिक्षण लिदैँ आएका छन् । एकेडेमीमा करातेका प्रशिक्षकमा श्याम सुनुवार तथा तेक्वान्दोको प्रशिक्षकमा तेक्वान्दो लालबहादुर बराम र युगेनले प्रशिक्षण दिँदै आएका छन् ।