काठमाडौं । नेपाली कबड्डीको पहिलो फ्रेन्चाइज प्रतियोगिता नेपाल कबड्डी लिग (एनकेएल) टोलीको मार्की खेलाडी र प्रशिक्षक सार्वजनिक गरिएको छ ।
आयोजकले आइतबार सबै टोलीका मार्की र प्रशिक्षक सार्वजनिक गर्यो ।
प्रतियोगिताको पहिलो संस्करणमा ६ टोलीको सहभागिता रहनेछ । काठमाडौं मेभेरिक्स, पोखरा लेकर्स, विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, धनगढी वाइल्डक्याट र हिमालयन राइडर्सले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
पुरुष कबड्डी लिगका लागि अखिल नेपाल कबड्डी संघले गत वर्ष एस्ट्रोनिक्स म्यानेजमेन्टसँग १० वर्षको सम्झौता गरेको थियो ।
काठमाडौं मेभेरिक्सले मार्की खेलाडीका रुपमा घनश्याम रानमगर तथा प्रशिक्षकमा सरोजकुमार सिंहलाई नियुक्त गरेको जनाएको छ ।
विराटनगर ब्यान्डिट्सको मार्की खेलाडीमा कल्याण भुजेल छन् भने प्रशिक्षकको रुपमा लोकबहादुर विष्टले टिमको नेतृत्व गर्नेछन् ।
त्यस्तै पोखरा लेकर्सले मार्की खेलाडीमा प्रदीप मिजार र प्रशिक्षकमा विष्णुदत्त भट्टलाई नियुक्त गर्दा जनकपुर नाइट्सले मार्की खेलाडीमा रामु टमाटालाई अनुबन्ध गरेको छ ।
यसैगरि जनकपुरले १९औं एसियाली खेलकुदमा नेपाली महिला टिमलाई ऐतिहासिक कांस्य पदक जिताउने पार्वती राईलाई प्रशिक्षणको जिम्मेवारी दिएको छ ।
धनगढी वाइल्डक्याटले मार्की खेलाडीमा पदमबाहदुर विष्ट र प्रशिक्षक महेश बोहरालाई नियुक्त गरेको छ ।
हिमालयन राइडर्समा भने मार्की खेलाडीको गणेश पार्की देखिनेछन् भने । प्रशिक्षणको जिम्मेवारी सन्दीप पन्त र पोथुङ्ती सतिश कुमारलाई सुम्पिइएको छ ।
आयोजकले प्रतियोगिता आयोजनाको मिति भने तोकेको छैन ।