बिर्तामोड। न्यु रोड टिम (एनआरटी) झापाको झापा कपको फाइनलमा प्रवेश गरेको छ ।
एनआरटीले इटहरीको राष्ट्रिय जागृति क्लबलाई पेनाल्टी सुटआउटमा ३-० ले पराजित गर्यो ।
बिर्तामोडस्थित डोमलाल राजवंशी रंगशालामा शनिबार सम्पन्न दोस्रो तथा अन्तिम सेमिफाइनलको निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।
पेनाल्टीमा एनआरटीका एञ्जल महर्जन, कृतिश छुन्जु र अभिषेक लिम्बु गोल गर्न सफल भए । जागृतिका कप्तान प्रवेश दनुवार र सविन घिमिरेको प्रहार एनआरटीका गोलरक्ष्न विशाल सुनारले विफल बनाएका थिए भने विदेशी खेलाडी एलेक्सको प्रहार बारमा लागेर बाहिरिएको थियो ।
उपाधिका लागि एनआरटीले चर्च ब्वाइज युनाइटेडको सामना गर्नेछ ।
यसअघि खेलको ४२ औं मिनेटमा एनआरटीका अञ्जन विष्टको प्रहार जागृतिका गोलरक्षक निरज चौधरीले बचाए । ८३ औँ मिनेटमा नेमारको क्रसमा शिशिर लेखीको हेडर गोलकिपर निरजले पञ्च गरेर बचाए ।
जागृतिका खमिरगिल्सन कन्दङवाको कडा प्रहारलाई ५०औं मिनेटमा एनआरटीका गोलकिपर विशाल सुनारले पञ्च गरेर बचाए । ८२औं मिनेटमा योगेन्द्र कार्कीले २५ यार्ड टाढाबाट गरेको प्रहार फ्रेममा पर्न सकेन ।
निकै तनावपूर्ण खेलमा रेफ्री प्रज्ज्वल क्षेत्रीले आठ वटा पहेंलो कार्ड देखाएका थिए । जागृति र एनआरटीका समान चार खेलाडीले पहेंलो कार्ड पाए ।
प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पाउने आयोजक झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए । प्रतियोगिताको फाइनल पुस ८ गते हुनेछ ।