काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन जयराम श्रेष्ठले एकल अग्रता लिएका छन् ।
जयराम ४-अन्डर ६४ सहित शीर्षस्थानमा छन् । उनले विष्णुप्रसाद शर्मा र निरज तामाङलाई एक स्ट्रोकले पछि पारे ।
रोयल नेपाल गल्फ क्लबमा मंगलबारबाट भएको प्रतियोगितामा विष्णु प्रसाद शर्मा र निरज तामाङले ३-अन्डर ६५ सहित दोस्रो स्थानमा रहेर पहिलो दिन पूरा गरे । नेपाल नम्बर एक एमेच्योर गल्फर सद्भाव आचार्य २-अन्डर ६६ सहित चौथो स्थानमा रहे ।
इभन-पार ६८ को स्कोरमा भेट्रान प्रो दीपक मगर र प्रदीपकुमार लामाले पाँचौं स्थान बाँडे । रमेश अधिकारी र दिनेश प्रजापतीले १-ओभर ६९ को स्कोर निकाले । उनीहरु सातौं स्थानमा छन् ।
यसैगरी २-ओभर ७० को स्कोरमा ६ गल्फर रामे मगर, कृष्णमान राजबाहक, रवि खड्का, वसन्तराज गुरुङ तथा एमेच्योरद्वय ज्ञान बहादुर ढेङ्गा र राहुल विक संयुक्तरुपमा नवौं स्थानमा रहे ।
रोयल नेपाल गल्फ क्लबका प्रो जयरामले बोगी रहित स्कोर कार्ड निकाल्ने क्रममा फ्रन्ट नाइन र ब्याक नाइन दुवै २-अन्डर ३२ मा सकाए । उनले चौथो, आठौं, दशौं र बार्ह्रौं होलमा बर्डी प्रहार गरे ।
विष्णुले पहिलो र सातौं होलमा एक/एक सट बचाउँदै फ्रन्ट नाइन २-अन्डर ३२ मा सकाए । यसपछि ११औं होलको बोगीविरुद्ध १२ र १३औं होलको दुई बर्डीले ब्याक नाइन १-अन्डर ३३ मा पुरा गरे ।
साबिक विजेता निरजले दोस्रो होलमा बोगी प्रहार गरे पनि चौथो र पाँचौँ होलको बर्डीले फ्रन्ट नाइन १-अन्डर ३३ खेले । त्यसपछि १०औं र ११औं होलमा लगातार दुई बर्डी प्रहार गरेका उनले ब्याक नाइनमा २-अन्डर ३२ को स्कोर दर्ज गरे ।
एमेच्योर सद्भावले सुरूवात राम्रो गर्न सकेनन् । पहिलो र चौथो होलमा बर्डी प्रहार गरे पनि तेस्रो, पाँचौं, छैटौं र नवौं होलमा एक\एक सट खेर फाले। फ्रन्ट नाइन २-ओभर ३६ मा पुरा गरे । तर ब्याक नाइनमा उत्कृष्ट कमब्याक गरे । १०, ११, १३ र १७औं होलमा बर्डीको सफलता प्राप्त गरे ।
यससँगै सद्भावले ब्याक नाइनमा ४-अन्डर ३० को उत्कृष्ट प्रदर्शन गरे । यो स्कोरमा उनी एमेच्योरतर्फ शीर्षस्थानमा छन्। उनले ज्ञान बहादुर ढेङ्गा र राहुल विकेलाई ४ स्ट्रोकले पछि पारे ।
७२ होलको चार दिने प्रतियोगितामा ३३ प्रोफेसनल र १२ एमेच्योर गरी ४५ गल्फरको सहभागीता छ ।
विजेताले उपाधिसँगै १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ। दोस्रो र तेस्रो हुनेले क्रमशः ८५र ६८ हजार रुपैयाँ हात पार्नेछन् । साथै कट बनाउने २१ प्रो गल्फरले पनि नगद पुरस्कार प्राप्त गर्नेछन। ३६ होलको समाप्तीमा कट लागु हुनेछ ।