काठमाडौं । नेपालका नम्बर एक एमेच्योर गल्फर सद्भाव आचार्यले जापानमा असोज १७ देखि २० गतेसम्म हुने एसिया-प्यासिफिक एमेच्योर च्याम्पियनसिपमा सहभागिता जनाउने भएका छन् ।
च्याम्पियनसिप जापानको गोटेम्बास्थित ताहियो क्लबमा हुनेछ । एमेच्योर वरियताको आधारमा सदभावले यो अवसर पाएका हुन् ।
सद्भावलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले आइतबार बिदाइ गरे ।
सद्भावले एसियाकै ठूलो प्रतियोगितामा खेल्न पाउनुलाई अवसरको रूपमा लिएको बताए ।
यही प्रतियोगिताको लागि सद्भावले अमेरिकामा दुई महिनाको विशेष प्रशिक्षण गरेर नेपाल आएका हुन् । प्रशिक्षणकै क्रममा उनले युएस एमेच्योर च्याम्पियनसिप र जुनियर प्लेयर्स च्याम्पियनसिपमा पनि प्रतिस्पर्धा गरेका थिए ।
नेपालबाट टासी छिरिङ पनि छनोट भएका थिए । तर केहि दिन अगाडि घुँडामा चोट लागेका कारण टासीले यो च्याम्पियनसिप नखेल्ने भएका छन् । सद्भाव आजै जापानको लागि प्रस्थान गर्नेछन् ।
बिदाइ कार्यक्रममा नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले एसिया-प्यासिफिक एमेच्योर च्याम्पियनसिपमा सद्भावले उत्कृष्ट प्रदर्शन गर्नेमा विश्वस्त रहेको बताए ।