स्पेनिस ला लिगा

रियाल बराबरीमा रोकियो

मड्रिड । टोनी क्रुज रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरएको खेलमा साविकको विजेता रियाल मड्रिड स्पेनिस ला लिगामा आइतबार जिरोनासँग १-१ को बराबरीमा रोकिएको छ ।

जिरोनासँग अंक बाँडेसँगै रियालले शीर्ष स्थानमा तीन अंकको अग्रता दिने अवसर गुमाएको छ । १२ खेलमा ३२ अंकसहित रियाल शीर्ष स्थानमा उक्लिएको छ । जुन दोस्रो स्थानको बार्सिलोना भन्दा एक अंक मात्र बढी हो । 

घरेलु मैदान सान्टियागो बर्नाबेउमा सम्पन्न खेलको ७०औं मिनेटमा भिनिसियस जुनियरले गरेको गोलमा रियालले अग्रता लिएको थियो । जारी सिजन जुनियरको यो नवौं गोल हो । ८०औं मिनेटमा क्रिस्टियन स्टुवानीको पेनाल्टी गोलमा जिरोना खेलमा फर्किएको थियो । 

इन्जुरी समयको पहिलो मिनेटमा क्रुज दोस्रो पहेँलो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि रियालले १० खेलाडीमा सीमित  हुँदै खेलको अन्त्य गरेको थियो । उनले ५५औं मिनेटमा पहिलो पहेँलो कार्डको दर्शन गरेका थिए ।

गत साता रियाल मड्रिड च्याम्पियन्स लिगमा आरबी लाइपजिकसँग पराजित भएको थियो । समूह एफको विजेता बन्ने लक्ष्यमा रहेको रियालले बुधबार सेल्टिकको सामना गर्नेछ ।