सहिद स्मारक लिग

पुसदेखि ‘ए’ डिभिजन लिग, दोहोरो लिग गर्ने निर्णय

काठमाडौं । नेपाली फुटबलको सबभन्दा महत्वपूर्ण प्रतियोगिता सहिद स्मारक ‘ए’ डिभिजन लिग आगामी पुसको अन्त्यमा सुरु हुने भएको छ ।

शीर्ष डिभिजनका १४ मध्ये १३ क्लबका प्रतिनिधि र एन्फा पदाधिकारीबीच मंगलबार बसेको बैठकले पुस २६ गतेबाट लिग गर्ने निर्णय गरेको हो । क्लब र एन्फाको बैठकले फुटबललाई व्यावसायिक बाटोमा अघि बढाउन लामो लिगको आवश्यक पर्नेमा सहमति जनाउँदै जेठ २० गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको एन्फाले जनाएको छ ।

एन्फा सचिवालयका एक पदाधिकारीका अनुसार बैठकमा शीर्ष डिभिजनका १४ मध्ये नेपाल पुलिस क्लबको मात्र सहभागिता थिएन ।

दोहोरो लिग प्रणालीमा हुने प्रतियोगितामा सहभागी सबै टिमले १३ विपक्षीसँग दुई पटक गरि कुल २६ खेल खेल्नेछन् । कुल एक सय ८२ खेल हुने लिगका केही खेल काठमाडौं बाहिर लानका लागि पनि सहमति भएको बताइएको छ ।