नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अल्दुल्लाह अल्मुताइरी सधैं चर्चाको केन्द्रमा रहने गर्छन् । खेल्ने शैलीदेखि टिम निर्माण, खेलाडी छनोट, पहिलो रोजाइमा टिम उतार्ने विषयमा मात्र उनी चर्चामा रहने होइनन् । उनले दिइरहने अभिव्यक्ति र सामाजिक सञ्जालको सक्रियताले पनि अल्मुताइरीलाई चर्चा र विवादको पात्र बनाइरहेको छ । अल्मुताइरीले नेपाली राष्ट्रिय फुटबल टिमको नेतृत्व लिएको एक वर्ष पूरा भइसकेको छ । एसिया कप छनोटको तयारीस्वरुप नेपाली राष्ट्रिय टोली अहिले थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्नका लागि उतै पुगेको छ । मैत्रीपूर्ण खेल खेल्न थाइल्यान्ड जानुअघि खेलाडी डटकमका लागि उमेश दाहालले उनको एकवर्षे कार्यकालको विषयमा अल्मुताइरीसँग गरेको कुराकानीको सम्पादित अंश:
तपाईँ नेपाल आउनुभ्एको एक वर्ष भयो, आफ्नो बसाइलाई कसरी समीक्षा गर्नुहुन्छ ?
यो यात्रा राम्रो रह्यो । पछिल्लो एक वर्षमा मैले यहाँ राम्रा र नराम्रा दुवै क्षण बिताएँ । यो मेरा लागि ठीकै रह्यो ।
नेपाल बसाइ कस्तो रहला भन्ने सोच्नुभएको थियो र कस्तो पाउनुभयो ?
मैले अलि शान्त होला भन्ने सोचेको थिएँ । तर, समय–समयमा एकदमै धेरै तनाव भयो । त्यस्तो तनाव हुन जरुरी थिएन । सामान्य अवस्थामा भने ठीकै रह्यो । किनभने, फुटबल के हो भन्ने मान्छेले बुझेका छन् । र, महत्त्वपूर्ण कुरा अहिले खेलकुदको माध्यमबाट विश्वसामु पुग्न सकिन्छ । जमैकाको उदाहरण लिने हो भने त्यहाँ कोही पुग्दैनन्, तर उसेन बोल्टको कारणले सबैले जमैकालाई चिनेका छन् ।
त्यसैले खेलकुदबाट विश्वसामु पुग्न सकिन्छ, विशेष गरी नेपाल पुग्न सक्छ । यदि नेपालको आर्थिक अवस्थामा सुधार गर्न चाहनुहुन्छ भने खेलकुदमा विशेष ध्यान दिनुपर्छ । किनभने यो पर्यटकका लागि नेपाल भ्रमणका लागि आकर्षित गर्ने प्रभावकारी माध्यम बन्न सक्छ ।
तपाईँले तय गर्नुभएका प्रारम्भिक लक्ष्यहरू के के थिए, कति हासिल गर्नुभयो ?
तीन मुख्य उपलब्धि थिए । एएफसी एसिया कप छनोटको तेस्रो चरणमा पुग्ने, साफ च्याम्पियनसिपको फाइनल पुग्ने र समर्थकले गर्व गर्नलायक नयाँ टोली बनाउने । र, मलाई लाग्छ हामीले यी तीनै लक्ष्य हासिल गर्यौं ।
आगामी एक वर्षको योजना के हुन्छ त ?
जुनमा हुने एसिया कप छनोटपछि हामी विश्वकप (२०२६) छनोटको तयारीमा जुट्ने छौं । विश्वकप छनोटको दोस्रो चरणमा पुग्ने प्रमुख लक्ष्य हुनेछ । त्यसका लागि हामीले प्रारम्भिक चरण पार गर्नुपर्नेछ । त्यसका लागि हामी एसियाका शीर्ष २४ टोलीमा पर्नुपर्नेछ । हामी त्यसका लागि आफ्नो तर्फबाट शतप्रतिशत दिन्छौं ।
राष्ट्रिय टोलीमा धेरै परिवर्तन भए पनि पहिलो रोजाइमा पुरानै खेलाडीले निरन्तरता पाएका छन् नि ?
तपाईं विजयी टोलीलाई परिवर्तन गर्न सक्नुहुन्न । यदि तपाईं जितिरहनुभएको छ र टोलीमा राम्रो भइरहेको छ भने धेरै परिवर्तन नगर्नुस् । तर, पहिलो रोजाइका खेलाडीलाई चुनौती दिन बेन्चमा भएका खेलाडी परिवर्तन गर्न सक्नुहुन्छ । त्यसो गर्दा यदि पहिलो रोजाइको खेलाडी पूर्ण रूपमा तयार छैनन भने अर्को खेलाडी तयार छ भन्ने हुन्छ ।
|
सबैभन्दा महत्त्वपूर्ण कुरा हामी एउटा स्तरमा पुगेका छौं । हामीसँग अहिले ३२ जना खेलाडी छन् र उनीहरू कुनै पनि खेलको पहिलो रोजाइमा पर्न सक्नेछन् । यो एकदमै महत्त्वपूर्ण छ । हामीले गर्ने पनि यही हो ।
हो, मैले पहिलो रोजाइमा धेरै परिवर्तन गरेको छैन । तर, प्रत्येक खेलमा कम्तीमा तीन–चार वटा नयाँ नाम देखिरहनुभएको छ । कहिले नयाँ नाम त कहिले अन्य ब्याचका खेलाडी । थाइल्यान्डमा पनि तपाईंले तीन–चार नयाँ खेलाडीले पहिलो पटक सुरुआती–११ मा स्थान बनाएको हेर्न पाउनुहुनेछ । र, यो फुटबलमा सामान्य कुरा हो । तपाईं सिस्टम परिवर्तन गर्न सक्नुहुन्न ।
नेपाली फुटबल एउटा निश्चित समयमा कहाँ पुग्न सक्छ ?
हामी कहिं पुग्न सक्दैनौं । यो नै वास्तविकता हो । योजना मात्रै बनाउन एकदमै सजिलो छ । तर, योजना लागू गर्न कडा परिश्रम गर्नुपर्छ । हामी सयम खेर फालिरहेका छौं । हामी अन्तरवार्ता, सामाजिक सञ्जालमा र मान्छेले के भन्छन् भन्नेमा समय खेर फालिरहेका छौं । यसको केही अर्थ छैन । यदि तपाईं एउटा स्तरमा पुग्न चाहनुहुन्छ भने यस्ता कुरामा ध्यान दिनु र समय खेर फाल्नुहुँदैन ।
पराजित भए पनि फेरि आफ्नो खुट्टामा उभिने कोसिसलाई निरन्तरता दिनुपर्छ । कसैलाई पनि पराजयको दोष थोपर्नु हुँदैन । र जित्दा पनि चाहिनेभन्दा धेरै सेलिब्रेट गर्नु हुँदैन । यो सामान्य कुरा हो ।
दक्षिण एसियाका अन्य देशको तुलनामा नेपालबाट थोरै खेलाडी मात्रै विदेशमा खेल्न पाइरहेका छन्, कारण के हुनसक्छ ?
मलाई दक्षिण एसियाली देशका खेलाडीले एसियाभन्दा बाहिरको लिग खेलिरहेका छन् जस्तो लाग्दैन । किनभने भारत र श्रीलंकाका खेलाडी माल्दिभ्सको लिगमा खेलिरहेका छन् । यस्तै बंगलादेशी खेलाडी भारतीय लिगमा खेलिरहेका छन् । यो ‘फरेन लिग’भन्दा पनि रिजनल लिग हो । यदि गल्फ मुलुकहरूमा हेर्ने हो भने पनि कुवेतका एक खेलाडी बहराइन वा कतारमा खेलिरहेका हुन्छन् । त्यो व्यावसायिक लिग हो र खेलाडीहरू रिजनभन्दा बाहिर गइरहेका छैनन् ।
|
खेलाडीहरूले रिजनभन्दा बाहिर गएर खेल्न पाए भने धेरै अनुभव बटुल्न पाउँछन् । मलाई लाग्छ एजेन्ट नभएर नेपाली खेलाडीहरू बाहिर जान पाइरहेका वा सकिरहेका छैनन् । फुटबलमा एजेन्टको महत्त्व एकदमै धेरै हुन्छ । एजेन्टकै माध्यमबाट खेलाडीहरूले बाहिर जाने मौका पाउँछन् । क्लबहरूसँगको सम्बन्ध पनि स्थापित हुन्छ ।
मसँग एउटा योजना छ । मैले यसमा काम पनि गरेको छु । म कम्तीमा १०–१५ जना खेलाडीलाई एउटा देशको दोस्रो डिभिजनमा खेल्न पठाउने तयारीमा छु । त्यसो गर्दा खेलाडीलाई धेरै अनुभव हुन्छ । तयारी पनि राम्रो हुन्छ । तर, यो मेरो एक्लो प्रयासमा सम्भव छैन । मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, एन्फा, ओलम्पिक कमिटी सबै मिलेर एउटै टिम भएर प्रयास गर्ने हो भने मात्रै सम्भव हुन्छ ।
हामीले यो योजना पूरा गर्न धेरै प्रक्रियाबाट जानुपर्छ । त्यसरी पठाउँदा उनीहरूले खेल्न नपाउलान् । तर, करिब आठ महिना व्यावसायिक खेलाडीसँग ट्रेनिङ गर्छन् । त्यसरी हामीले पनि खेलाडीलाई पठाउनुपर्छ ।
साफ च्याम्पियनसिप चलिरहँदा खेलाडीका लागि दोहोरो नागरिकता कुरा उठाउनुभएको थियो, यो कत्तिको महत्त्वपूर्ण छ ?
म सरकारलाई एउटा सल्लाह दिन्छु, खेलाडीका लागि यस्तो कानुन बनाइदिनुहोस्, जुन खेलकुदका लागि मात्रै मान्य हुन्छ । खेलाडीलाई ५ वर्षका लागि नेपालको पासपोर्ट दिलाएर नेपालबाट खेलाउन सक्नुहुन्छ । मलाई थाहा छ, राजनीतिक अन्य कुराहरू पनि छन् । तर, हामीले खेलाडीका लागि मात्रै लागू हुने गरी दोहोरो पासपोर्टको व्यवस्था गरिदिने हो भने उनीहरूले नेपालका लागि खेल्न सक्छन् ।
|
अहिले इन्डोनेसियाको टिम हेर्ने हो भने ११ नयाँ खेलाडी छन् । बंगलादेशले पनि नयाँ खेलाडी ल्याइरहेको छ । श्रीलंका र माल्दिभ्सलगायत अन्य देशमा पनि त्यस्तै छ । विश्वमै यस्ता कानुन बनेर प्रचलनमा आइसके । फिफा र एएफसीले पनि यसलाई मान्यता दिइरहेको छ भने नेपालले किन गर्न सक्दैन ?
हामीले यस्ता धेरै खेलाडी पाउने छौं, जो विदेशमा बस्छन् । मैले थाइल्यान्डमा एक, अस्ट्रेलियामा एक, क्यानडामा एक, इङ्ल्यान्डमा दुई र इटालीमा एकजना त्यस्ता खेलाडी भेटें । मैले दस जनाभन्दा धेरै यस्ता खेलाडी भेट्टाएको छु, तर उनीहरूसँग नेपाली पासपोर्ट नभएर खेल्न पाउँदैनन् । त्यो मैले गर्न सक्ने कुरा पनि होइन । तर, यदि सरकारले, संसदले यस्तो एउटा कानुन बनाइदियो भने त्यो राम्रो हुन्छ ।
त्यसो हुँदा नेपालको फुटबलसँगै अन्य खेलमा पनि सहयोग पुग्छ । जस्तै क्रिकेट, पौडी, एथलेटिक्स । विश्व खेलकुदको नक्सामा हामीलाई स्थापित गराउन त्यसले सहयोग गर्छ ।
एएफसी एसियन कप २०२३ मा नेपालको छनोट हुने सम्भावना कति छ ?
२० प्रतिशत । वास्तविकता यहि हो । जोर्डन, कुवेत र इन्डोनेसिया हामीभन्दा राम्रा टोली हुन् । तर २० प्रतिशत सम्भावना छ ।
नेपाललाई यो अवस्थाबाट माथि उठाउन अहिलेको घरेलु फुटबलको संरचना पर्याप्त छ ?
म घरेलु फुटबलका बारेमा बोल्न चाहन्न ।
नेपाली खेलाडीमा देखिएको आम समस्या के पाउनुभयो ?
नेपाली फुटबलमा देखिएको प्रमुख समस्या भनेको हामी आफूलाई कमजोर रूपमा हेर्छौं । हामी जित्न सक्दैनौं भन्ने सोच्छौं । त्यसैले जहिले पनि नेपाल डिफेन्समा केन्द्रित हुन्छ ।
हो, मैले आक्रामक फुटबल खेल्छौं भनेको थिएँ । हामीले पछिल्ला १२ खेलमा करिब १५ गोल गरेका छौं । सुरुआतमा यो गोलको राम्रो संख्या हो । नेपालको खेल्ने शैली परिवर्तनका लागि यो राम्रो सुरुआत हो ।
नेपालको इतिहासमै हेर्ने हो भने प्रमुख समस्या एउटा खेल १–० ले जित्यौं भने हाम्रो काम सकियो भन्ने सोच्छौं । हामी विश्वकै उत्कृष्ट टोली हौं भन्ने सोच्छौं । र, जब हामी ६÷७–० ले हार्छौं, हामी विश्वकै सबैभन्दा कमजोर/खराब टोली हौं भन्ने सोच्छौं ।
एउटा उदाहरण दिन्छु– सन् १९८६ को विश्वकप छनोटमा सबैले अर्जेन्टिना बाहिरिन्छ भन्ने सोचेका थिए । अन्तिम मिनेटमा एक गोल गरेर उनीहरु विश्वकपलाई छानिएका थिए । तर, त्यही अर्जेन्टिनाले विश्वकप जित्यो ।
|
त्यसैले फुटबल भनेको एक खेलमात्रै होइन । यो भनेको एउटा पुस्ताको नतिजा हो । एउटा पुस्तामा के भयो भन्ने हेरेर मात्रै के गर्ने भन्ने निर्धारण हुन्छ ।
यदि अहिलेदेखि नै राष्ट्रिय टोलीमा दुई पुस्ताको विकास नगर्ने हो भने यो टोली पनि गुम्ने छ । त्यसैले यो एउटा टोली मात्रै होइन, एउटा खेलको मात्रै कुरा होइन, एउटा प्रतियोगिताको मात्रै पनि कुरा होइन । यो निरन्तरताको कुरा हो । अहिले हामीले उमेर समूहको नतिजा हेर्ने होइन, त्यो महत्त्वपूर्ण होइन । उनीहरूले सिक्नु र खेल्नु महत्त्वपूर्ण हो ।
त्यसैले म यु–२३ टोलीले हासिल गरेको नतिजाको वास्ता गर्दिनँ । यु–२०, यु–१७ को नजिता महत्त्वपूर्ण छैन । प्रमुख कुरा उनीहरूले खेल्नुपर्छ । उनीहरूले सिक्नुपर्छ ।
अहिले हामी गरिरहेका छौं । किनभने मलाई थाहा भएसम्म १० वटा एकेडेमी खोलिँदै छन् । ग्रासरुटका लागि, उमेर समूहका लागि यो महत्त्वपूर्ण छ । कम्तीमा अहिले आएर भए पनि बच्चैदेखि निरन्तर फुटबल खेल्न पाउने व्यवस्था हुँदै छ । र, यो एकदमै राम्रो कुरा हो ।
फेरि पनिः समस्याको कुरा गर्दा प्रत्येक एकजनामा जानुहुँदैन । यदि प्रत्येक खेलाडीमा समस्याको कुरा गर्ने हो भने साना–तिना समस्या छन् । तर, मुख्य समस्या सिस्टममै छ । टिममा समस्या छ, उनीहरूले कसरी खेल्छन् ? उनीहरू के चाहन्छन् ? समर्थहरू के चाहन्छन् ?
उनीहरू जित्न चाहन्छन् ? होइन, उनीहरू फुटबल खेल्न चाहन्छन् । उनीहरू फुटबल हेर्न चाहन्छन्, जित वा हार होइन । एक प्रशिक्षकको हिसाबले भन्दा म एक खेलाडीले क्रस गर्न सक्दैन, एक खेलाडी यो/त्यो गर्न सक्दैन भन्दिनँ । मुख्य समस्या हामीसँग दीर्घकालीन योजना छैन । हामी निरन्तरता दिँदैनौं ।
एउटा पुस्ता माथि आउँछ सबै कुरा गर्छ, स्वर्ण जित्छ... तर अर्को पुस्ता कहाँ हुन्छ ? जसले त्यसै स्तरमा निरन्तरता दिन सकोस् ? छैन ।
त्यसो हुँदा फेरि नयाँ पुस्तालाई त्यो अवस्थामा पुर्याउन ४/५ वटा पुस्ता लाग्छ । त्यसैले हामीले निरन्तरता दिनुपर्छ । टिम बाइ टिम, जेनेरेसन बाइ जेनेरेसन निरन्तरता दिनुपर्छ । त्यसैले म टोलीमा खेलाडीहरू परिवर्तन गरिरहन्छु ।
केही सिनियर खेलाडीहरू करियरको ढल्कँदो अवस्थामा छन् ? उनीहरूको प्रतिस्थापन कत्तिको सहज छ ?
हामीसँग उनीहरूको स्थान लिने खेलाडी छन् । हामीसँग रोहित (चन्द), किरण (चेम्जोङ), सुजल (श्रेष्ठ), विशाल राई, सन्तोष तामाङलाई प्रतिस्थापन गर्ने खेलाडी छन् । किनभने आयुष घलान छन्, १८ वर्षका । २३ वर्षका दीप कार्की पनि अर्का उदाहरण हुन् । यसैगरी हामीसँग मनीष डाँगी, तेज तामाङ, सुमन लामा यस्ता धेरै खेलाडी छन् ।
सिनियर खेलाडीले संन्यास लिने कुरा समस्या होइन । समस्या भनेको कसरी युवा खेलाडीलाई टोलीमा आत्मविश्वासी बनाएर राख्ने, अनुभव दिलाउने भन्ने हो । युवा खेलाडीसँगै हामीले सिनियर खेलाडीको पनि प्रयोग गर्नुपर्छ । निरन्तरता दिनु महत्त्वपूर्ण हुन्छ ।
दक्षिण एसियामा नेपाली फुटबललाई कहाँ पाउनुहुन्छ ?
हामीसँग आइएसएल जस्तै लिग छ ? बंगलादेशको लिग जस्तो छ ? माल्दिभियन लिग जस्तो छ ? श्रीलंकामा जस्तो प्रतिस्पर्धात्मक लिग छ ?
छैन भने के छ त ? यहाँको समस्या भनेको एउटा निर्णय लिन हामी तीन–चार वर्ष लगाउँछौं । एन्फामा होइन, राखेपमा होइन, मन्त्रालयमा होइन । यो देशैभर सामान्य जस्तै छ ।
एउटा निर्णय लिन नै यति समय लगाउँछौं । तपाईं आफैं भन्नुहोस् न अब हुने प्रतियोगिता कुन् हो ?
|
.... गोल्डकप । यसरी गोल्डकपको आयोजना हुनु राम्रो हो । तर, यस्ताखाले प्रतियोगिताबाट राष्ट्रिय टोलीको दुई पुस्ता तयार गर्न सकिँदैन । यस्ता प्रतियोगिताले खेलाडीलाई फिटनेस दिन्छ, थोरै अनुभव पनि दिन्छ । तर, यदि फुटबलका लागि वातावरण बनाउन चाहने हो भने ठूला प्रतियोगिता आयोजना गर्नुपर्छ । उदाहरणका लागि ए डिभिजन लिग कम्तीमा ४÷६÷७ महिना लामो हुनुपर्छ ।
बंगलादेश र भारतमा जस्तै हुनुपर्छ । एनएसएल हुनुपर्छ, डिभिजन लिग कम्तिमा तीन–चार वटा हुनुपर्छ । र, बी, सी डिभिजन लिग तीन–चार महिना कम्तीमा हुनुपर्छ । जब खेलाडीले धेरै खेल्छन्, यो राष्ट्रिय टोलीका लागि पनि राम्रो हुन्छ । उदाहरणका लागि कुनै पनि युरोपेली मुलुकमा जाने हो भने युरोप किन भारत र बंगलादेशमै पनि राष्ट्रिय टोलीलाई दुई हप्ताको पनि ट्रेनिङ क्याम्प चाहिँदैन । फिफा डे मात्रै काफी छ । किनभने, उनीहरू क्लबमा निरन्तर ट्रेनिङ गरिरहेका छन् ।
|
हाम्रोमा ए डिभिजन लिग सकिएको कति भयो ? र, अहिले कति क्लब ट्रेनिङ गरिरहेका छन् ? निरन्तर ट्रेनिङ छैन । अब मैले के गर्नुपर्छ ? मैले लामो समय बन्द प्रशिक्षण गराउनुपर्छ । फिटनेस, ट्याक्टिस र बिल्डअपका लागि जिरोबाट सुरु गर्नुपर्छ । त्यसैले प्रत्येक पटक हामीले ट्रेनिङ क्याम्प गर्दा जिरोबाट बनाउनुपर्छ ।
त्यसको कारण क्लब खराब छन् भन्ने होइन । एन्फा खराब भएर पनि होइन । किनभने, यहाँको सिस्टम नै यस्तै छ । प्रतियोगिता एकदमै छोटो समयका हुन्छन् । सम्भवतः सबै प्रतियोगिता चार महिनाभित्र आयोजना हुन्छन् । त्यसपछि केही हुँदैन । हामीलाई कोभिड १९ ले गर्दा पनि थप समस्या भयो । कोभिडले गर्दा हामीले सबै कुरा रोक्नुपर्यो, त्यो ठीक छ ।
यो मैले दिनसक्ने वा गर्नसक्ने समाधान होइन, एन्फाको निर्णय पनि होइन । यो कसैको निर्णय थिएन । तर, खेलाडीहरूले किन आफैं ट्रेनिङ गरेनन् ? किन खेलाडीहरू वर्कआउट गरेर फिट बसेनन् ?
कसैले पनि गरेनन् वा एकदमै थोरैले मात्रै गरे । यो कसको समस्या हो ? एन्फाको समस्या हो कि ? राखेपको हो कि ? अरू कसैको ?
यो सबै सिस्टममा सुधार गरिनुपर्छ ।
पछिल्लो समय देखिएको एनएसएल–ए डिभिजन लिगको विवादबारे के भन्नुहुन्छ ?
म तपाईंलाई एउटा कुरा भन्न चाहन्छु । मलाई एनएसएल, एन्फा र क्लबबीचको विवादबारे केही मतलब छैन । तर म एउटा प्रश्न सोध्न चाहन्छु, कसले हार्छ ? फुटबलले ?
होइन, खेलाडीले हार्छन्, खेलाडीले गुमाउँछन् । यो दुई लाख, एक लाख वा तीन लाख खेलाडीका लागि एकदमै महत्त्वपूर्ण हुन्छ । यो एन्फा, एनएसएल, एनएसएलका क्लबका लागि महत्त्वपूर्ण नहुन सक्छ, तर खेलाडी रुन्छन् । किनभने उनीहरू गुमाउँदैछन्, पराजित हुँदैछन् ।
उनीहरूले छोराछोरी वा परिवारलाई खाना खुवाउने सोचेका होलान् । उनीहरूले त्यो पनि गुमाउँछन् । अब भन्नुहोस्, यो विवादबाट को हार्दै छ ?
|
मलाई थाहा छैन को सही अनि को गलत । र, यो मेरो समस्या पनि होइन । तर म जब मेरा खेलाडीलाई एकदमै दुःखी देख्छु, त्यसले मलाई पीडा दिइरहेको छ । र, मसँग पैसा हुने हो भने म साँच्चै सबै खेलाडीलाई १ वा २ लाख दिन्थें । र, उनीहरूलाई खुसी बनाएर फेरि बिल्ड गर्थें । तर, मसँग पैसा छैन ।
अब म के गर्न सक्छु ? एउटा निर्णय पर्खेर बस्नुपरेको छ । खेलाडीहरू हारिरहेका छन् । यस्ता खेलाडी पनि छन्, जो सन्तानलाई खुवाउन आफू खाँदैनन् । कति खेलाडी विवाहित छन्, कति खेलाडीका बच्चा छन्, कति खेलाडीका बुवा–आमा छन्, कति खेलाडीका भाइ–बहिनी छन् । जसलाई विदेश पठाएर भविष्य बनाउन चाहन्छन् ।
यी सबै कुरा गुमिरहेका छन् । को चाहिँ खुसी छ ? एन्फा ? एनएसएल ? क्लबहरू ?
कहिलोकाहीं खेलाडीलाई हुने ठूलो फाइदाका लागि केही कुरा यसै छाडिदिनुपर्छ ।
म खेलाडीहरू ब्रान्ड एम्बासडर बनुन् भन्ने चाहन्न । किनभने हामी मोडल होइनौं । तर खेलाडीलाई पैसा चाहिन्छ, त्यसैले मैले स्वीकार्नैपर्छ ।
तपाईंलाई थाहा छ, नेपालमा मलाई सबैभन्दा धेरै पीडा कुन कुराले दिन्छ ?
जब खेलाडी, समर्थक, विवेक सुवेदी वा आविष्कार... जो कोही पनि नेपाली राष्ट्रिय टोलीको जर्सी लगाएर नाचिरहेको, गाइरहेको, टिकटक बनाइरहेको, इन्स्टाग्राममा रिल्स बनाइरहेको देख्दा मलाई लज्जित महसुस हुन्छ ।
तर, म कसरी फुटबलमा मात्रै फोकस गर भन्न सक्छु । यदि त्यसबाट मात्रै उनीहरू बाँच्नै सक्दैनन् भने ।
|
त्यसैले एन्फा, क्लब, एनएसएल सबैसँग मेरो अनुरोध छ । सबैकुरा बिर्सिनुस्, यदि पीडा महसुस भएको छ भने म सबैसँग माफी माग्छु । तर, यसको मूल्य खेलाडीले चुकाउनुपर्ने नहोस् । किनभने खेलाडीले उनीहरूको परिवार पाल्नुपर्छ ।
तपाईं हामी एसिया कप छनोटमा कसरी खेलोस् भन्ने चाहनुहुन्छ ? जब खेलाडीहरू– दुई–तीन लाख गुमाइरहेका छन् । यो दुई–तीन लाखले उसको घर बन्छ, चल्छ । यति पैसाले उसको परिवारले एक–दुई–तीन–चार महिनासम्म खाना खान सक्छ ।
यदि उसले आफ्नो परिवार नै पाल्न सक्दैन भने कसरी खेलाडीलाई नेपाल र नेपालीका लागि मर, आफ्नो नामका लागि मर भन्न सकिन्छ ?
अब भन्नुस् न, यो विवादबारे तपाईंलाई के लाग्छ ? जति धेरै खेल्यो खेलाडीलाई पनि त्यति नै राम्रो हो । यो सामान्य छ त ।
एएफसी ए लाइसेन्सका लागि खेलाडी तयार गरिरहेको बताउनुभएको थियो ? त्यो किन महत्त्वपूर्ण छ ?
म उनीहरूलाई सी लाइसेन्स दिलाउँछु । अहिलेको आधुनिक फुटबलमा खेलाडीले ३० वर्ष पुग्नुअघि ए लाइसेन्स लिइसक्नुपर्छ । किनभने, फुटबल अहिले खेल मात्रै रहेन । यो अहिले विज्ञान र शिक्षा पनि बनेको छ । त्यसैले यो एकदमै महत्त्वपूर्ण छ । हामीले खेलाडीलाई नै प्रशिक्षक बनाएर पनि ३–४ खेल पनि खेल्यौं । जब यसरी खेलाडीले टिम बनाउने, सुरुआती ११ चुन्ने, परिवर्तन गर्ने सबै कुरा आफैँले गर्ने मौका पाउँछन्, उनीहरूले फुटबल अझै राम्रोसँग बुझ्छन् ।
हामी अहिले पनि खेलाडीका लागि कोचिङ कोर्स बनाउन एएफसीबाट स्वीकृति पर्खिरहेका छौं । सम्भवतः दुई कोर्स । किनभने हामीसँग धेरै संख्यामा खेलाडी छन् । यो नेपालका लागि एकदमै राम्रो हो । मेरा लागि होइन । जब खेलाडीले राम्रोसँग फुटबल बुझ्छन्, यो उनीहरूकै लागि राम्रो कुरा हो ।
थाइल्यान्ड भ्रमणबारे केही भन्न चाहनुहुन्छ ?
यो सामान्य मैत्रीपूर्ण खेल हुनेछ । सम्भवतः म यी खेलमा पहिलो रोजाइका सबै खेलाडी प्रयोग नगर्न सक्छु । मलाई थाहा छ, कुवेत–इन्डोनेसियाले हाम्रो खेल हेर्नेछन्, जसरी म पनि उनीहरूको निगरानी गरिरहेको छु ।
त्यसैले अहिले सबैले सूचना जम्मा गर्छन् । त्यसैले मसँग २–३ योजना छन् । तीमध्ये एउटा म तपाईंलाई भन्छु र मलाई आशा छ कसैले पनि खेलाडीको सही नाम लेख्ने छैनन् ।
म खेलाडीको नम्बर परिवर्तन गर्छु । किनभने मलाई थाहा छ, उनीहरूले नामको मतलब गर्दैनन्, नम्बरको मात्रै मतलब गर्छन् । त्यसैले म नम्बर परिवर्तन गर्छु । तर मलाई थाहा छ, त्यहाँ केही मिडिया यस्ता छन्, जो राम्रा मिडिया भएकाले– जास्तविक नम्बर यो हो भनेर लेखिदिन सक्छन् । त्यसैले यो किन लेख्नुहुन्छ ? कृपया यो नलेख्नुस् ।
हामीलाई हाम्रो काम गर्न दिनुहोस् । यदि मैले नम्बर बिना खेलाएँ भने म केही चाहिरहेको हुन सक्छु । मैले सार्वजनिक रूपमै भनेको छु, जब म माल्दिभ्स गएँ, माल्दिभ्सको टोलीलाई नेपाली मिडियाबाट समाचार थाहा भइरहेको थियो । तर, उनीहरूले समाचार लुकाएका थिए । म एन्फाको मिडिया विभागलाई रिजल्ट प्रकाशित गर भन्न सक्थें । तर हामीले किन लुकायौं भने हामी दिमागी खेल खेलिरहेका थियौं ।
अहिले म भन्छु– म थाइल्यान्डमा खेलाडीको नम्बर परिवर्तन गर्छु, तर कसैले पनि वास्तविक नम्बर नलेखिदिनुहोस् भनेर म नेपाली मिडियालाई अनुरोध गर्न चाहन्छु ।
किनभने नेपाली खेलाडीको नाम कठिन छ । त्यसैले उनीहरू नम्बरको मात्रै मतलब गर्छन् । कोही वास्तविक नम्बर नलेख्न सक्छ ?