काठमाडौं । मंगलबार रातिका खेलसँगै सिधै युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गर्ने आठ टिमको टुंगो लागेको छ । नयाँ नियमअनुसार तालिकाको शीर्ष आठमा रहने टोलीले सिधै प्रि क्वार्टरफाइनलमा स्थान बनाउने छन् ।
यसपटक अन्तिम १६ मा इङ्लिस प्रिमियर लिग क्लबको बाहुल्यता देखिएको छ । प्रिमियर लिगबाट पाँच क्लब छन् । बुन्डेसलिगा, ला लिगा र पोर्चुगलबाट समान एक टिम छनोट भएका छन् ।
इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनल (२४ अंक) च्याम्पियन्स लिगमा पनि शीर्ष स्थान कायम राख्न सफल भयो । यता, बुन्डेस लिगा लिडर बायर्न म्युनिख (२१)ले पनि दोस्रो स्थानमा रहँदै आफ्नो लय कायम राखेको छ ।
तेस्रो स्थानमा रहेको लिभरपुल (१८), चौथो स्थानमा रहेको टोटनहम (१७) र समान १६ अंक जोेडेर पाँचौं स्थानमा रहेको बार्सिलोना, छैटौं स्थानमा रहेको चेल्सी, सातौं स्थानको स्पोर्टिङ (पोर्चुगल) र आठौं स्थानको म्यानचेष्टर सिटी सिधै छनोट भएका छन् ।
अब, ९ देखि २४ सम्म टिमले प्लेअफ खेल्नेछन् । अब, १६ टिमबाट प्लेअफ खेल्दै आठ टिम अन्तिम १६ मा प्रवेश गर्नेछन् ।
या्े प्रतिस्पर्धामा साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) र १५ पटकको कीर्तिमानी च्याम्पियन रियाल मड्रिडसँगै इटाली सिरी ए लिग लिडर इन्टर मिलान पनि छ ।
राति नै भएको खेलमा रियाल मड्रिड पोर्चुगिज टोली बेन्फिकासँग ४–२ ले पराजित भयो । पिएसजीले न्युक्यासल युनाइटेडसँग १–१ को बराबरी खेल्दै सिधै अन्तिम १६ को अवसर गुमायो ।
बायर्न म्युनिखले पिएसभी इन्धोभेनलाई २–१ ले हरायो । चेल्सीले नापोलीलाई ३–२, म्यानचेष्टर सिटीले गालातासारेलाई २–०, लिभरपुलले कराभाग एफकेलाई ६–० र बार्सिलोनाले एफसी कोपेन्हागेनलाई ४–१ ले हराएका हुन् ।
